पानी तान्ने मोटरपम्प मर्मत गर्न इनारमा पसेका दुई जनाको मृत्यु, एकको उपचार हुँदै
मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित साह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटरपम्प बिग्रिएपछि मर्मतका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ।
दुवै जनाको शव नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
उनका अनुसार होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज साह मोटरपम्प मर्मत गर्न भन्दै शुक्रबार बिहान ९ बजे इनारमा पसेका थिए। साह बाहिर नआएपछि उनलाई खोज्न स्थानीय १६ वर्षीय उत्सव नेपाली पनि इनारमा पसेका थिए।
तर, दुवै जना लामो समय बाहिर नआएपछि स्थानीय आनन्द लो डोरीको सहाराले इनारमा पसे। लो पनि इनारको बीच भागमा पुगेपछि बेहोस भएका थिए। त्यसपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि नेपाली सेनाको टोली घटनास्थल पुगेर इनारमा पसेर हेर्दा साह र नेपालीको शव फेला परेको हो।
बेहोस भएका लोलाई उद्धार गरी चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा उपचारका लागि पठाइएको मकवानपुर प्रहरीले जनाएको छ। साह र नेपालीको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ।