घुमघामको गन्तव्य घोडाघोडी ताल: जहाँ पुग्छन् वर्षेनि ८० हजार पर्यटक (तस्वीरहरू)
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवर्द्धन हुन थालेको छ। घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड नै गठन गरी काम गर्न थालेपछि वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका छन्।
कोरोना कहर बीच पनि अहिले दैनिक रूपमा १०० बढी पर्यटकहरूले घोडाघोडीको अवलोकन गरिरहेका छन्। विश्व रामसार सूचीमा सूचीकृत नेपालका तालमध्ये कैलाली जिल्लाको घोडाघोडी ताल धार्मिक र पर्यटकीय सुन्दर स्थल हो। पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्नेमध्ये घोडाघोडी नपुग्ने विरलै हुन्छन्। नाम मात्र सुनेका पर्यटकहरूको ध्यान पनि यो तालले खिचेको हुन्छ।
करीब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ। तालको आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू समेत गरेर घोडाघोडी सिमसार क्षेत्र भएको छ। घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल मात्र २४८ हेक्टर क्षेत्रफल जमीन पर्दछ।
यसको कुल क्षेत्रफल २ हजार ५६३ हेक्टर रहेको छ। तालछेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ। घोडाघोडी ताल र मन्दिरको अवलोकन दर्शन गर्नका लागि ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको संरक्षणकर्मी दीपक शाहले बताए।
घोडाघोडी घुमघाम गर्नको लागि पर्यटकहरूलाई कुनै असुविधा हुँदैन। घोडाघोडी ताल नजिक सुखड गाउँमा आधुनिक होटलहरु सञ्चालनमा छन। गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकहरूका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ। घोडाघोडी नगरपालिकाले यसको संरक्षण सम्बर्द्धनका लागि घोडाघोडी पर्यटन बोर्ड गठन गरेर काम गरिरहेको छ।
यो क्षेत्रमा बढीभन्दा बढी पर्यटकहरू भित्र्याउन नगरपालिकाले गुरुयोजना तयार गरेको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले बताए।
घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित क्षेत्रका रुपमा रहेका छन्। त्यस्तै रैथाने प्रजातिका दर्जनौँ माछा, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन स्थल बनेको रहेछ घोडाघोडी ताल। ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जङ्गली धानसमेत पाइन्छ। घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका गोही, ७ प्रजाति घस्रिने जन्तु, ४५० भन्दा बढी प्रजातिका वनस्पति रहेका छन्। सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ।