ग्लोबल आइएमई ब्यांक र होटल व्यवसायी महासंघबीच कर्जा प्रवाह समझदारी
ग्लोबल आइएमई ब्यांक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच कर्जा प्रवाह सम्बन्धी समझदारी भएको छ। महासंघसँग आबद्ध नेपालभर रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ कारोबारको पहुँचभित्र ल्याउने विषयमा समझदारी भएको हो।
समझदारी पत्रमा ग्लोबल आइएमई ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन्।
होटल व्यवसायी महासंघ नेपालसँग आवद्ध व्यवसायीहरूलाई आर्थिक कारोबारमा सघाउ पुर्याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्याउने हेतुले कर्जा सुविधा प्रदान गर्ने सहमति भएको हो।
यसका साथै महासंघसँग आबद्ध व्यवसायीहरूको लागि ब्यांकले आवश्यकता अनुसार बैंकिङ एवं वित्तीय साक्षारता सम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ। यस्तो सुविधा लिनका लागि महासंघसँग आबद्ध सम्पूर्ण व्यवसायीहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएको छ।
ग्लोबल आइएमई ब्यांकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थासँग समन्वय गरी यस्ता योजना ल्याउने गरेको छ।