रौतहटको ७० वर्ष पुरानो विद्यालयमा दुई नगरपालिकाको दाबी
स्थानीय तह गठन भएदेखि नै रौतहटका दुई पालिकाले सात दशक पुरानो एक विद्यालयलाई आफ्नो भनी दाबी गर्दै शुरु भएको विवाद अझै सुल्झिएको छैन। मध्य रौतहटको सरस्वती माध्यमिक विद्यालयमाथि गरुडा नगरपालिका र गढीमाई नगरपालिकाले दाबी गर्दै आएका छन्।
विद्यालयको स्वामित्वको विषयलाई लिएर दुवै नगरपालिकाको आफ्नै तथ्य र तर्क छन्। गढीमाईका मेयर श्यामप्रसाद यादव विद्यालय आफ्नो नगरपालिका क्षेत्रमा रहेको दाबी गर्छन्। विद्यालय सञ्चालन रहेको भवन तथा विद्यालयको जग्गा समेत गढीमाई नगरपालिकाको सीमाभित्र रहेको उनी बताउँछन्।
पहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान नेपालले वरियारपुर गाविसमा काम गर्दा त्यस संस्थाले मलाही र वीरनगरामा पक्की भवन, विभिन्न शैक्षिक सामग्री तथा शिक्षकहरुको व्यवस्था गरेको सम्झँदै मेयर यादवले तत्कालीन वरियारपुर गाविस समायोजन भएर गढीमाई नगरपालिकामा आएको बताए। “विद्यालयमाथि गरुडा नगरपालिकाले दाबी गरेको त छ, तर तत्कालीन मलाही गाविसमा प्लान नेपाल लागू नै थिएन”, उनी भन्छन्।
मेयर यादवले आफ्नै काका रामप्रसाद यादवले विद्यालयलाई सात बिघा जमीन दान दिएको र अर्को एक विद्यालयलाई नौ बिघा दान दिएको तथ्य प्रस्तुत गर्दै अन्य गाउँको विद्यालय भएको भए दान गर्ने कुरै नआउने तर्क गरे।
पहिले मलाही गाविस र वरियारपुर गाविस अन्तर्गत मलाहीटोल छुट्टै थियो। विद्यालयको बोर्डमा श्री सरस्वती माध्यमिक विद्यालय मलाहीटोल चिलमिलिया लेखिएको छ। मलाहीटोल र मलाही भन्नु एउटै हो भन्ने तर्क तत्कालीन मलाही गाविसका बासिन्दाको छ भने मलाहीटोल साविकको वरियारपुर गाविस अन्तर्गतको भाग भएको अर्को पक्षको दाबी छ।
नगरपालिका गठन हुँदा केही प्राविधिक गडबडीले शिक्षक र कर्मचारीको तलब गरुडा नगरपालिकामा गएपछि विद्यालयको स्वामित्वको विषयमा विवाद उठेको मेयर यादवको भनाइ छ। एकै नामका दुई गाउँ सँगसँगै रहेको र दुवै गाउँ दुई पालिकामा परेकाले विवाद भइरहेको मेयर यादवको तर्क छ।
पहिले मलाही गाविस र वरियारपुर गाविस अन्तर्गत मलाहीटोल छुट्टै थियो। विद्यालयको बोर्डमा श्री सरस्वती माध्यमिक विद्यालय मलाहीटोल चिलमिलिया लेखिएको छ। मलाहीटोल र मलाही भन्नु एउटै हो भन्ने तर्क तत्कालीन मलाही गाविसका बासिन्दाको छ भने मलाहीटोल साविकको वरियारपुर गाविस अन्तर्गतको भाग भएको अर्को पक्षको दाबी छ। तत्कालीन मलाही गाविस अहिले गरुडा नगरपालिकाको वडा नम्बर ३ भएको छ भने वरियारपुर गाविस अहिले गढीमाई नगरपालिकाको वडा नम्बर ९ भएको छ। चिलमिलिया गाउँ पनि गढीमाई नगरपालिकामै पर्छ।
विद्यालय भवन गरुडा नगरपालिकाको सीमाक्षेत्रभन्दा करीब एक किलोमिटरभित्र गढीमाई नगरपालिकाको सीमामा रहेको गढीमाईका मेयर यादवको दाबी छ।
विद्यालयको पुराना कागजपत्रमा मलाही वडा नम्बर ५ लेखिएको पाइएको विद्यालयका प्रधानाध्यापक रामसागर साह बताउँछन्। पहिले सबै प्रशासनिक काम मलाही गाविस वडा नम्बर ५ भनेर नै हुने गरेको आफूले पाएको साहको भनाइ छ, जबकि विद्यालय रहेको भवन त्यतिबेलै वरियारपुर गाविसमा पर्थ्यो। वरियारपुर नलेखेर किन मलाही लेखियो त ? यसबारे आफूलाई केही थाहा नभएको प्रधानाध्यापक साह बताउँछन्।
विद्यालयलाई विगतमा साविकका दुवै गाविसको सहयोग
२००७ सालमा स्थापना भएको यो विद्यालयमा साविकका मलाही र वरियारपुर दुवै गाविसका बालबालिका पढ्ने गरेको इतिहास रहिआएको छ।
गरुडा नगरपालिकाको शिक्षा शाखा संयोजक मौजेलाल राय यादव नक्सांकनको हिसाबले मलाहीको सरस्वती मावि गढीमाई नगरपालिकाको क्षेत्रभित्र रहेको तर विद्यालयको रेखदेख तथा व्यवस्थापनमा तत्कालीन वरियारपुर र मलाही दुवै गाविसको सहयोग हुने गरेको स्वीकार्छन्। तर, पछिल्ला वर्षहरूमा वरियारपुरका स्थानीयले यो विद्यालय गढीमाई नगरपालिकामा हुनुपर्ने र मलाहीवासीले गरुडा नगरपालिकामा हुनुपर्ने चाहना र तर्क राख्दा विवाद सुल्झिन सकेको छैन।
केही वर्षअघि जिल्ला प्रशासन कार्यालय रौतहटले विद्यालयको स्वामित्वको विषय टुंगो लगाउन सक्रियता देखाए पनि समाधान निस्कन नसकेको संयोजक यादव बताउँछन्।
नगरपालिकाको गठन भएको वेलादेखि नै विद्यालयको रेखदेख, संचालन, व्यवस्थापन र अन्य सम्पूर्ण काम गरुडा नगरपालिकाबाट नै भइरहेको संयोजक यादव तथा विद्यालयका प्रधानाध्यापक साहको भनाइ छ। वर्तमान अवस्थासम्म विद्यालयको व्यवस्थापन गरुडा नगरपालिका नै रहेको तर माथिल्लो निकायले गरेको निर्णय आफूहरुलाई स्वीकार हुने नगरपालिकाको शिक्षा शाखा संयोजक संयोजक यादव बताउँछन्।
विद्यालय भवन रहेको जग्गादाता स्थानीय बीरा सहनी वरियारपुर गाविसका भएको प्रअ साहको भनाइ छ। विद्यालयमा जग्गादाता सहनीको प्रतिमा स्थापना गरिएको छ। उनी भन्छन्, “विद्यालय कुन नगरपालिका अन्तर्गत हो भन्ने विषयले अहिलेसम्म खासै कुनै प्रशासनिक समस्या आएको भने छैन।”