स्याङ्जाको पहिरोमा ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार
स्याङ्जाको वालिङ नगरपालिका-१४ तमादीमा बिहीबार पहिरोले घर पुरिंदा मृत्यु भएका एकै परिवारका नौ जनाको हिजै साँझ सामूहिक दाहसंस्कार गरिएको छ।
बिहीबार बिहान ६ बजे तमादीमा पहिरोले माया नेपालीको घर पुरिंदा उनीसहित परिवारका नौ जनाको मृत्यु भएको थियो। उनीहरुको रामनदी धाम (राम्दी) स्थित कालीगण्डकी नदीमा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ।
परिवारका सबैको मृत्यु भएकाले दागबत्ती दिने कोही पनि नभएपछि आफन्तमध्येका जीवलाल परियारले दागबत्ती दिएका थिए।
एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ।
पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।