बाढीले दुई पालिका जोड्ने पुल जोखिममा, आवागमन अवरुद्ध
लगातारको वर्षापछि आएको बाढीले रौतहटको गरुडा र माधवनारायण नगरपालिका जोड्ने पुल जोखिममा परेको छ। पुलसम्म पुग्ने बाटो बाढीले कटान गरेपछि आवागमन बन्द भएको स्थानीयले बताएका छन्।
गरुडा नगरपालिका–१, जयनगर र माधवनारायण नगरपालिका-५, माइधिया जोड्ने लमाहा नदीमा रहेको पुल भत्किने जोखिममा पुगेको हो।जयनगरका रामानन्द साह कानुले निरन्तरको वर्षाले बाटो करीब काटिसकेको र मानिस तथा साइकलबाहेक अन्य साधन आवागमन बन्द भएको बताए।
जयनगर गाउँको नजिकै भएर बग्ने लमाहा खोलाको पूर्वपट्टीको गाउँका वासिन्दासँगको सम्पर्क टुटेको साहले बताए। अझै पनि वर्षा भइरहेकोले बाटो पूर्ण कटान हुने र केही परिवारको विचल्ली हुने साहको भनाइ छ।
पुलको पश्चिमी किनारमा वर्षाले भत्काउँदा माधोपुर, विशुनपूर्वा, मानपुर, माइधिया, सिंगारमन, जयनगर गाउँका बासिन्दालाई आवागमनमा कठिनाइ भएको स्थानीयको भनाइ छ।
गरुडा–१ का वडाध्यक्ष सरोजकुमार यादवले बाटोको कटान रोक्ने र तत्काल मर्मत गर्ने बताएका छन्। तर, वर्षा नरोकिएकोले समस्या भइरहेको वडाध्यक्ष यादवको भनाइ छ। यो पुल करीब आधा दर्जन गाउँको ‘लाइफलाइन’को रूपमा रहेको छ।
यसैबीच, बाढीले बगाएर रौतहटमा एक बालक वेपत्ता भएका छन्। रौतहटको वृन्दावन नगरपालिका–४ का उपेन्द्र यादवका करीब ८ वर्षका छोरा रोशन भावरीघाटको बागमती नदीमा डुबेर बेपत्ता भएका हुन्।
बाख्रा चराउन गएका रोशन खोलामा आएको बाढी हेर्न जाँदा तीव्र गतिको बाढीले बगाएर बेपत्ता भएपछि प्रहरीसहितको टोलीले खोततलास गरिरहेको छ।
निरन्तरको वर्षाले रौतहटका साना ठूला सबै खोलाको जलस्तर बढेको र ग्रामीण सडकहरू हिलाम्मे भएका छन्। अत्यधिक वर्षाले भदैया धानमा पनि हानी पु¥याएको किसानहरूको भनाइ छ।