‘कोरोनाबारे तथ्यभन्दा भ्रम फैलाएर आतंक सिर्जना गरियो’
सांसदहरूले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरू बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बिहीबार भएको छलफलमा सांसदहरूले कोरोनाका विषयमा तथ्यगत जानकारी सम्प्रेषण हुन नसक्दा जनतामा आतंक फैलिएको बताएका हुन्।
सांसद रामचन्द्र राईले कोरोना महामारी हो कि सरुवा रोग मात्रै हो भन्ने कुरा प्रष्ट पार्न माग गरे। स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागी बैठकमा उनले सरुवा रोग मात्रै हो भने कोकोहोलो किन गर्नुपरेको भन्दै प्रश्न गरे। महामारी नै हो भने सामान्य अवस्थाको मृत्युदर र अहिलेको मृत्युदरको विश्लेषण हुनुपर्ने उनको माग छ।
सांसद कोमल वलीले लक्षण देखिएकालाई मात्रै पीसीआर परीक्षण गर्ने नीति ठीक नभएको बताइन्। संक्रमित भएर उपचार गराइरहेको व्यक्तिले अन्य व्यक्तिमा संक्रमण फैलाउने दर बढी हुने भएकाले लक्षण देखिएमात्रै परीक्षण गर्ने नीति ठीक नभएको उनको भनाइ छ।
सांसद गोपीबहादुर सार्कीले कोभिडको विषयमा बढी चर्चा र आतंक फैलाइएको बताए। आतंक सिर्जना हुने गरी भएको प्रचारले आम मानिसमा मनोवैज्ञानिक असर गरेको उनको टिप्पणी छ।
अर्का सांसद शेखर कुमार सिंहले स्थानीय तहमा अस्पतालको संख्या मात्रै नभएर जनशक्ति पनि बढाउनेतिर ध्यान दिनुपर्ने बताए। सांसद अनिता देवकोटाले अबको अवस्था कसरी सामान्य बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन्। कोभिड–१९ संक्रमणको जोखिम नेपालमा पनि हुन्छ भन्ने थाहा भएपनि रोकथामका लागि सरकार र संसदले आवश्यक योजना बनाउन नसकेको उनको गुनासो छ।
सांसद खिमलाल भट्टराईले पछिल्लो समय समाजमा बन्दाबन्दीको आतंक फैलिएकोले अब बन्दाबन्दी गर्न नपर्ने गरी ‘प्रोटोकल’ बनाउनुपर्ने बताए।
छलफलमा सहभागी स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले अहिले भेन्टिलेटर भन्दा अक्सिजनको उपचार विधि लाभदायिक देखिएको बताए।
पालिकाहरूमा स्थापना हुने अस्पतालहरूमा छात्रवृतिमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक पालिकामा एकजना चिकित्सकको व्यवस्था गर्नेगरी योजना अगाडि बढेको डा. लोहनीले बताए।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको भ्याक्सिन बनेपछि नेपाललाई सहज रूपमा उपलब्ध गराउन भारत, रसिया र चीन लगायतका मुलुकसँग दुईपक्षीय कुराकानी भइरहेको बताए। चिकित्सकहरूको जोखिम भत्ताका विषयमा मन्त्रिपरिषद्ले तयार पारेको कार्यविधि अनुसार वितरण भइरहेको उनले सांसदहरूलाई जानकारी गराए।