हावाहुरीबाट प्राधिकरणको रु १५ करोड क्षति
१७ चैत साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ ।
बारा र पर्सा भएर प्रवाहित हुने प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो क्षति भएको प्राधिकरणले जनाएको छ ।
हावाहुरीका कारण परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट, वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइन र १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइनमा क्षति पुगेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५०० खम्बा ढलेका छन् ।
क्षतिग्रस्त प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटाँैडास्थित क्षेत्रीय कार्यालय तथा बारा र पर्साको टोली प्रभावित क्षेत्रमा पुगेको छ ।
हेटाँैडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार आज साँझसम्म केही स्थानमा र भोलि, मंगलबार अबेरसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको छ ।
बारा र पर्सा बाहेक अन्य क्षेत्रको विद्युत् प्रणालीमा कुनै समस्या नरहेको प्राधिकरणले जनाएको छ ।