कोरोना अपडेट : पछिल्लो एक हप्तामा ६३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट १७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।
बिहीबारसम्ममा मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा मात्र १ हजार ४९७ कोरोना संक्रमित थपिएका छन्। पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेहरूको संख्या पनि बढ्दो छ।
बुधबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ थियो भने मंगलबार दुई जनाको मात्र कोरोना संक्रमणबाट मृत्युको भएको थियो।
मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ असोजसम्ममा ४११ र ३ असोजसम्ममा ४०१ थियो। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २ असोजसम्ममा ३९० जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
यसरी एक सातामा कोरोना संक्रमणबाट ६३ जनाको मृत्यु भएको छ। संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी होम आइसोलेसनमा बसिरहेका बेला, अस्पताल जाने क्रममा, आईसीयू बेड नपाएर र आईसीयू बेडमा पुगे पनि राम्रो सेवा नपाएका कारण संक्रमितको ज्यान गएको बताउँछन्।
“यसलाई कम गर्न घरमा भएका संक्रमितलाई सरकारले दैनिक निगरानीमा राख्नुपर्छ,” डा. अधिकारी भन्छन्, “उपचारमा खट्ने चिकित्सकहरूलाई तालिमसहित अक्सिजन भएको बेडको व्यवस्थापन गर्न जरुरी भइसकेको छ।”
उनी सरकारले परीक्षण दर अझै बढाउनुपर्ने र लुकेर रहेका कोरोना संक्रमित पहिचान गर्न कट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्ने बताउँछन्।