मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन केबल टेलिभिजन व्यवसायीको माग
नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटीर/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेको छ। महासंघका पदाधिकारीहरूले विहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी/मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन्।
नेपालमा ओटीटी/मोबाइल एप्समार्फत प्रभु टिभी र नेट टिभीले टेलिभिजन प्रसारण गर्दै आएका छन्। गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरूमा विज्ञापनरहित नीति (क्लिन फिड) लागू गर्न सरकारलाई निर्देशन दिएको थियो।
केबल टेलिभिजन व्यवसायीहरूले क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन्। महासंघका अध्यक्ष ध्रुव शर्माले नेपालमा ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण कानून सम्बत लाइसेन्स लिएर सञ्चालनमा नआएको भन्दै हटाउनुपर्ने माग गरे।
व्यवसायीहरूले नेपालमा गैरकानूनी रूपमा विदेशी तथा स्वदेशी ओटीटी/मोबाइल एप्समार्फत् भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अर्बौंको राजश्व छली गरिरहेको समेत बताएका छन्। त्यस्ता प्रसारणलाई क्लिन फिड लागू हुनु अगाडि नै बन्द गराउन व्यवसायीहरूले माग गरेका हुन्।
यस्तै खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय डीटीएच टेलिभिजन च्यानलहरूले नेपालमा व्यापार गरिरहेकोप्रति पनि व्यवसायीहरूले ध्यानाकर्षण गराएका छन्। व्यवसायीहरूले क्लिन फिड लागू हुनु अगावै यस्ता समस्याको समाधान नगरे केबल टेलिभिजन व्यवसायीहरूले लगानी गरेको अर्बौं रूपैयाँ जोखिममा पर्ने बताएका छन्।