अर्थतन्त्र सुस्त, आयात २२ प्रतिशतले घट्यो
बजारमा वस्तुको माग शिथिल हुँदा भदौमा आयात २२ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महीना (साउन–भदौ) मा रु. १ खर्ब ७८ अर्ब ८४ करोडको आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको यही अवधिका तुलनामा २२.०७ प्रतिशत थोरै हो।
खासगरी अर्थतन्त्रमा पूँजी निर्माण गर्ने फलाम, औद्योगिक मेसिन लगायतका वस्तुको आयात खस्किएको छ। फलामको आयात करीब २९ प्रतिशतले घटेको देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार भदौसम्ममा रू. १४ अर्ब ३० करोडको फलाम आयात आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा रु. २० अर्ब ४ करोडको आयात भएको थियो। कोरोना भाइरसले सिर्जना गरेको संकटका कारण देशमा निर्माणको गतिविधि सुस्ताएपछि फलामको आयात खस्किएको हो।
त्यस्तै, विद्युतीय मेसिनको आयात पनि घटेको छ। भदौसम्ममा रू. १७ अर्ब ९७ करोडको विद्युतीय मेसिन आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा रू. १९ अर्ब १२ करोडको आयात भएको थियो। अन्य औद्योगिक मेसिनहरुको आयात पनि घटेको छ।
औषधिको आयात पनि ह्वात्तै घटेको छ। अघिल्लो वर्षको साउन–भदौमा रू. ५ अर्ब ८४ करोड मूल्य बराबरका औषधि आयात भएकोमा यो वर्ष त्यो रू. ४ अर्ब ५ करोडमा सीमित भएको छ।
सवारी साधन र यसका पाटपूर्जाको आयात आधामा झरेको छ। साउन–भदौ दुई महीनामा रू. ९ अर्ब ७४ करोडको सवारी साधन तथा पाटपूर्जा आयात भएको छ, जुन गत वर्षको यही अवधिमा रु. १८ अर्ब ४४ करोडको आयात भएको थियो।
आयात ह्वात्तै घटेपनि देशको निर्यातमा भने सामान्य वृद्धि देखिएको छ। विभागका अनुसार, भदौसम्ममा देशको निर्यात १०.४९ प्रतिशतले बढेर रू. २० अर्ब ४४ करोड पुगेको छ। यो गत वर्षको यही अवधिमा १८ अर्ब ५० करोडमा सीमित थियो।
यसमध्ये रु. ५ अर्ब ४८ करोडको त भटमासको तेलमात्रै निर्यात भएको छ। नेपालमा तेल निर्यात गर्न पुग्ने परिमाणमा भटमास उत्पादन हुँदैन। अरु देशबाट भटमास तेल आयात गरी सामान्य प्रशोधन गरी विदेश निर्यात गर्ने धन्दा मौलाएका कारण यसको निर्यात बढेको देखिएको हो।
आयात खस्किएका कारण देशको वैदेशिक व्यापार घाटा केही हदसम्म घटेको छ। भदौसम्मा देशको व्यापार घाटा रू. १ खर्ब ५८ अर्बमा सीमित भएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा तुलनामा करीब एक चौथाई थोरै हो ।