हप्तामा दुई दिन विदा दिनेबारे अध्ययन गर्न पर्यटन मन्त्रालयले बनायो कार्यदल
आन्तरिक पर्यटन प्रवर्द्धन र कोरोना कहरका कारण सुस्त भएको पर्यटन क्षेत्र चलायमान बनाउन हप्तामा दुई दिन सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव तयार पार्न पर्यटन मन्त्रालयले एक कार्यदल बनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने विषयमा आवश्यक अध्ययन गर्न कार्यदल गठन गरेको हो। मन्त्रालयले दुई दिने विदाको प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने उद्देश्यले मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वको ६ सदस्य रहेको कार्यदल गठन गरेको हो
कार्यदलको सदस्यमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी छन्। कार्यदलका अन्य सदस्यमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका एक/एक जना प्रतिनिधि रहनेछन्।
पर्यटन क्षेत्रको पुनरूत्थान कार्यक्रम प्रभावकारी बनाउने योजना पनि मन्त्रालयले तयार पार्दैछ। यस्तो योजना बनाउन पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रूपमा कार्यक्रम बनाउने निर्णय पनि मन्त्रालयले गरेको छ।
मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा ८ असोजमा (विहीबार) बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयकाे विहीबारकाे बैठकले पशुपति मन्दिर, लुम्बिनी र संग्राहालय खोल्ने सम्बन्धमा ‘प्रोटोकल’ तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) मा पेश गर्ने निर्णय गरेको छ।
बैठकले, बांग्लादेश, इन्डोनेसिया, रसिया, कोरिया र फिनल्याण्डसँग भएको हवाई सम्झौता र पुनरावलोकनको प्रस्तावलाई पनि असोजभित्र तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ।
पर्यटन क्षेत्रको पुनरूत्थान कार्यक्रम प्रभावकारी बनाउने योजना पनि मन्त्रालयले तयार पार्दैछ। यस्तो योजना बनाउन पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रूपमा कार्यक्रम बनाउने निर्णय पनि मन्त्रालयले गरेको छ।
मान्त्रायले हप्ता दिनभित्र हवाई ईन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाईं निर्देशन दिएको छ।