२६ वर्षदेखि सत्तामा रहेका बेलारुसका राष्ट्रपतिले लिए छैटौं कार्यकालका लागि शपथ, यूरोपेली मुलुकहरुले दिएनन् मान्यता
बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौं पटक राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन्।
विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाउँदै निरन्तर प्रदर्शन गरिरहँदा राष्ट्रपति लुकाशेन्कोले पूर्व घोषणा नगरी सामान्य कार्यक्रमबीच शपथ लिएका हुन्। पूर्व सोभियत संघबाट अलग भएयता २६ वर्षदेखि लुकाशेन्को बेलारुसको राष्ट्रपति छन्।
गत ९ अगस्टमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा लुकाशेन्कोले ८० प्रतिशत मत प्राप्त गरेका थिए।
राष्ट्रपतिको शपथ भइरहँदा राजधानी मिन्स्कमा हजारौं व्यक्ति प्रदर्शनमा उत्रिएका थिए भने सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
धेरै यूरोपेली मुलुकहरुले राष्ट्रपति निर्वाचनको नतिजा अस्वीकार गर्ने र लुकाशेन्कोलाई वैधानिक राष्ट्रप्रमुखका रुपमा मान्यता नदिने बताएका छन्।
मिन्स्कस्थित राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा ६६ वर्षीय लुकाशेन्कोले दाहिने हातमा संविधान राखेर शपथ लिएका थिए। त्यस अवसरमा केन्द्रीय निर्वाचन आयोगका प्रमुखले बेलारुसको राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लुकाशेन्कोलाई हस्तान्तरण गरेका थिए।
त्यस अवसरमा सम्बोधन गर्दै राष्ट्रपति लुकाशेन्कोले निर्वाचनमा मुलुकको राष्ट्रपतिमा विजयी हुनु ठूलो कुरा नभएको भन्दै आफूले राष्ट्रको मूल्य-मान्यता, शान्तिपूर्ण जीवन, सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाको प्रतिरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
राष्ट्रपति निर्वाचनमा लुकाशेन्कोकी कट्टर विरोधी नेतृ स्भितलाना चिखानोस्कायाले १० प्रतिशत मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। हाल छिमेकी मुलुक लिथुआनियामा निर्वासनमा रहेकी स्भितलानाले निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै परिणाम अस्वीकार गर्ने बताएकी छिन्।
लिथुआनियाको राजधानीबाट भिडियो सम्बोधन गर्दै स्भितलानाले जनताले लुकाशेन्कोलाई जनादेश नदिएको र शपथ ग्रहण कार्यक्रम आफूलाई वैधानिक दाबी गर्ने चालबाजी मात्र भएको बताएकी छिन्। उनका दशौं हजार समर्थकहरुले ६ सातादेखि लुकाशेन्कोको राजीनामाको माग गर्दै प्रदर्शन गरिरहेका छन्।
यूरोपेली यूनियनले समेत लुकाशेन्कोलाई बेलारुसको राष्ट्रपतिका रुपमा मान्यता दिन अस्वीकार गरेको छ।