के 'जोकर' को सिक्वल बन्दैछ ? अभिनेता फिनिक्स र निर्माताले दिए संकेत
टोड फिलिप्स निर्देशित 'जोकर' सन् २०१९ को ब्लकबस्टर हलिउड फिल्म थियो। यो फिल्ममा अभिनेता वाकिन फिनिक्सले अब्बल अभिनयबाट दुनियाँभरका दर्शकको वाहवाही पाए। फिनिक्सलाई जोकरको रुपमा रुचाएका दर्शकका लागि सुखद खबर छ, 'जोकर' को सिक्वल बनाउने विषयमा निर्माण टोलीबीच छलफल भइरहेको छ।
एक रिपोर्टका अनुसार त, ४५ वर्षीय यी अभिनेतालाई जोकरको दुई वटा सिक्वलको लागि ५० मिलियन डलर प्रस्ताव गरिएको छ।
'जोकर'को सिक्वलको लागि फिल्मका निर्देशक, निर्माता र अभिनेता कसैले पनि सोच नबनाए पनि व्यावसायिक सफलता र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया आएपछि फिनिक्स र निर्देशक फिलिप्स सिक्वल बनाउने संकेत दिइरहेका छन्।
'जोकर' ओस्कर अवार्ड २०२० मा विभिन्न ११ वटा विधामा मनोनयनमा परेकोमा फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। ५५ देखि ७० मिलियन डलरमा बनेको फिल्मले एक बिलियनभन्दा बढी कमाएको थियो।
फिल्मको एक सूत्रका अनुसार, सिक्वल बनाउने विषयमा कुरा भइरहेको छ र फिल्मको स्क्रिप्ट पनि लेखिंदैछ। निर्देशक फिलिप्स, फिनिक्स र निर्माता ब्राडली कूपरले दीर्घकालीन सहकार्यको योजना बनाएर आउँदो चार वर्षमा जोकरको दुई वटा सिक्वल ल्याउने विषयमा तयारी गरिरहेको जनाइएको छ।
केही समयअघि एक अन्तर्वार्तामा निर्माता ब्राडलीले निर्देशक एवम् निर्माता फिलिप्सले फोन गरेर डीसी कमिक्समा आधारित जोकरकै कथाको नयाँ भर्सनको विषयमा आफूसँग कुरा गरेको बताएका थिए। 'जोकर' डीसी कमिक्सकै एउटा पात्र हो।
यस्तै, अभिनेता फिनिक्सले पनि लसएन्जलस टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका थिए, "जोकर फिल्म रिलिज हुनु वा सफल हुनुभन्दा अगाडि नै हामीले यसको सिक्वलको बारेमा कुरा गरेका थियौं। जोकरको दोस्रो वा तेस्रो हप्ताको सुटिङको दौरान मैले निर्देशक फिलिप्ससँग सिक्वलमा काम गर्न शुरु गरौं भनेको थिएँ। तर, यस विषयमा अझै काम गर्न र खोज्न बाँकी नै छ। त्यतिवेला गम्भीर रुपमा नभई यत्तिकै कुरा भएको थियो।"