बुटवलको कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई संक्रमितको आज मृत्यु भएको छ। मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष छन्।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार, कोरोना संक्रमण भई अस्पतालमा भर्ना भएका नवलपरासी रामग्राम नगरपालिका-३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। लामो समयदेखि कलेजोको समस्या रहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि २ असोजदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
यस्तै, कपिलवस्तु बुद्धभूमि-६ का ५० वर्षीय पुरुषलाई मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेकोमा कोरोना संक्रमण पुष्टि भएपछि १ असोजमा अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई २ असोजदेखि भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले जानकारी दिए।