चीनले अझै गरेन उत्तरतर्फका नाका तत्काल खुल्ने संकेत
छिमेकी मुलुक चीनले उत्तरतर्फका नाकाहरू तत्काल नखोल्ने संकेत गरेको छ। कोरोना महामारीलाई कारण देखाउँदै नेपाल आउने नाकाहरू बन्द गरेको चीनले तत्काल ती नाकाहरू नखोल्ने संकेत गरेको हो।
बुधबार नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओलुङले नेपाल र चिनियाँ पक्षबीच नाका खोल्ने विषयमा गृहकार्य भइरहेको बताएका छन्। तर, उनले विज्ञप्तिमा स्वास्थ्य सामग्री लगायतका अत्यावश्यक सामग्री ल्याउन नाकाहरु एकतर्फी रुपमा खोल्दै आएको कुरालाई नै बढी जोड दिएका छन्।
तत्कालका लागि नेपालको स्वास्थ्य सामग्री र अत्यावश्यक सामग्रीको आवश्यक्तालाई ध्यानमा राखेर झांगमु र जिलांग नाका एकतर्फी रुपमा खुला गरिएको उनको भनाइ छ।
मनसून र महामारीका कारण नाकाहरूमा आवागमनलाई केही समयका लागि रोकेको भन्दै वाङले नेपालको चिन्तालाई गम्भीर रुपमा लिएको बताएका छन्। "चीन र नेपाल तत्काल नाकाहरू सञ्चालनमा ल्याउने विषयमा काम गरिरहेका छन्", उनले भनेका छन्।