अप्रेशन खर्च नहुँदा मृत्यु
रुखले थिचेर गम्भीर घाइते भएका सुनसरी दुहबी नगरपालिका–१० का ३० वर्षीय भिम उरावको मृत्यु भएको छ ।
स्थानीय शंकर चौधरीले लगाएको टिकको रुख काट्ने क्रममा सोही रुखले थिचेर शनिबार उराव गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका उरावलाई नोबेल मेडिकल कजेल विराटनगरमा उपचारार्थ ल्याइएको थियो ।
प्रहरीका अनुसार, अस्पतालले टाउकाको उपचार गर्न सात लाख रुपैयाँ लाग्ने जनाएपछि घाइतेलाई घर फिर्ता लगिएको थियो । आइतबार घर लगिएका घाइते उरावको बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरीकै बर्जु गाउँपालिका–६ का ४५ वर्षीय हरि पालको नोबेल मेडिकल कलेजले घर पठाउने बित्तिकै मृत्यु भएको छ ।
गत ४ गते कीटनाशक औषधि खाएर बिरामी परेका पालको इनरुवा जिल्ला अस्पताल र कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकी नोबेल अस्पताल लगिएको थियो । अस्पतालले आइतबार दिउँसो बिरामी पाललाई डिस्चार्ज गरेकोमा बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
कमल रिमाल