खराब मौसमले बहराइनी राजपरिवारका सदस्यको लुक्ला भ्रमण रोकियो
बहराइनी राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीको बुधबार तय भएको काठमाडौंबाट लुक्लाको यात्रा खराब मौसमका कारण रोकिएको छ।
पर्वतारोहणका लागि ३१ भदौमा काठमाडौं आइपुगेको यो टोली बुधबार लुक्ला जाने र त्यहाँबाट खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि प्रस्थान गर्ने तालिका तय भएको थियो।
एभरेष्ट हेलिकप्टरबाट शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा र उनको सुरक्षा टोलीका तीन जनासहित लुक्ला जान ठिक्क परेको भएपनि मौसमको खराबीका कारण टोली काठमाडौंमा नै बसेको छ।
यो टोलीको आरोहण दलका संयोजक, सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार अब बिहीबार बिहान राजपरिवारका सदस्यसहितको एक टोली हेलिकप्टरमा र अरु आरोहण टोली जहाजमा जानेछन्।
उनको भ्रमण टोलीमा १८ सदस्य छन्। आरोहण टोलीलाई सहयोग गर्ने, गाइड, पोर्टर, सहयोगीसहित एक सय जनालाई खटाइएको शेर्पाले जानकारी दिए। नेपालमा आएको यो उच्चपदस्थ विदेशी टोलीलाई आवश्यक सेवा र सुविधा सबै दिनुपर्ने भएकोले ठूलै समूह परिचालन गरिएको शेर्पाले बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यो टोलीलाई मंगलबार आरोहण अनुमति दिएको हो।
यो टोली एक साता काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा क्वारेन्टिनमा बसेको थियो। टोलीले लोबुचे आरोहण गरेर फर्केपछि गोरखाको मनास्लु पनि आरोहण गर्ने भएको छ।
कोभिडको असरका बीच नेपालमा भएको उच्चपदस्थ विदेशी टोलीको यो भ्रमणले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बताए।