भोकको पीडा (तस्वीरहरु)
हरेक दिन दिउँसो ४ बजे सविना बानियाँ (५६) चिकँमुगदेखि कान्तिपथ निस्किन्छन्। वीर अस्पताल अगाडिको फुटपाथमा धैर्यसाथ बस्छिन्, जहाँ झण्डै ३०० जना खानाको प्रतीक्षा गरिरहेका हुन्छन्।
कोभिड–१९ महामारीमा नहुनेलाई निःशुल्क खाना खुवाउन स्वयंसेवी खटिएका छन्। निःशुल्क यो राहतमा कहिले चिउरा, तरकारी त कहिले दालभात पनि हुन्छ। सविता यी खानेकुरा लिन्छिन्। र, त्यसले साँझ–बिहान पुर्याउँछिन्।
११ चैतमा सरकारले बन्दाबन्दी घोषणा गरेपछि सविनामा के गर्ने, के नगर्ने द्विविधा उत्पन्न भयो। सरकार काेही पनि काममा नजाउन् र घरमै बसून् भन्ने चाहन्थ्यो। तर, काममा नगई पेट पाल्ने कसरी ?
सविना एक गार्मेन्ट उद्योगमा काम गर्थिन् । तर, त्यो पनि बन्दाबन्दीमा बन्द भयो ।
तीन वर्षअघि श्रीमान् बितेपछि हेटौंडा घर भएकी उनी काठमाडौं आइन् । दुई सन्तान छन् तर उनीहरु सविनासँग बस्दैनन् । त्यसैले सविनाले आफ्नो जोहो आफैँ गर्नुपरेको छ ।
बन्दाबन्दीको शुरुआती दिनमा बेचेका खानेकुरा र पैसाबाट केही साता त टर्याे। तर, त्यसपछि त छिमेकको पसलले पनि उनलाई उधारो दिन छाड्यो ।
अब के गर्ने भन्ने चिन्ताले सताइरहेकै बेला उनले एक दिन कान्तिपथमा खाना बाँडिंदैछ भन्ने सुनिन्। अहिले उनी हरेक दिन त्यहाँ जान्छिन्। त्यही निःशुल्क खानाले उनलाई बचाइरहेको छ ।
“म धेरै दुब्ली भइसकें, लुगाहरु खुकुला हुन थालेका छन्” सविना भन्छिन्, “रोग भन्दा भोकले बढी सताउने रहेछ।”