कोरोनाका सक्रिय संक्रमित १७ हजार, २५ हजार पुगे बन्दाबन्दी गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि फेरि बन्दाबन्दी गर्न सिफारिस गरेको छ।
बुधबार नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज बिहान बसेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय संक्रमित पुगेपछि बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ।
२५ हजार भन्दा धेरै संक्रमित हुँदा पूर्वाधार व्यवस्थापनमा समस्या हुने भन्दै यस्तो निर्णय गरिएको उनले बताए। यसैगरी, अन्तर्राष्ट्रिय सीमानाकामा हेस्थ डेस्क स्थापना र व्यवस्थापनका लागि कर्मचारी दरबन्दी स्वीकृत गर्ने, बढी शुल्क लिने पीसीआर प्रयोगशालाहरूको अनुगमनमा कडाई गरी कारबाही गर्न निर्देशन दिने निर्णय पनि भएको गौतमले बताए।
यस्तै, संक्रमणदर बढिरहेको र जोखिम उच्च रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा तथा व्यवसायहरू कम्तिमा एक महीना नखोल्न समेत सिफारिस गर्ने निर्णय भएको प्रवक्ता गौतमले बताए।