दशैको मुखमा मजदूरीका लागि भारत जानेको लर्को
कोराना भाइरस फैलिएसँगै पाँच महीना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि भारत जान थालेका छन्। स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन्। खुला सीमा नाकाका कारण यहाँका स्थानीवासी रोजगारीका लागि दैनिक सयौंको सङ्ख्यामा भारततर्फ गइरहेका छन्।
रोगको डरले स्वदेश फर्केका नेपालीहरू अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य छन्। नेपालमा बन्दाबन्दी भएसँगै उनीहरू भित्रिएको पाँच महीना आफ्नै देशमा बसेपछि पछिल्लो समय खान लाउन र दैनिक गुजारा गर्न समस्या भएपछि भारत पस्न बाध्य भएका हुन्।
भारतमा फैलिरहेको कोरोनासँग मनमनै डर लागिरहेको भएपनि एक छाक टार्न र परिवार पाल्नका लागि भएपनि रोजगारीका लागि भारत गइरहेको नेपालीहरू सीमाक्षेत्रमा भेटिने गरेका छन्।
जिल्लाका अधिकांश नागरिक वर्षको करिब नौ महिना भारतका विभिन्न स्थानमा गएर काम गर्ने र भएको कमाइले बाँकी तीन महिना आफ्नो गाउँमा बसेर खाने गर्दछन। चाडपर्वको समयमा आफ्नो गाउँ फर्किने र अरू समयमा भारतमै मजदूरी गरी बस्ने गरेको मजदूर विनय महतोले बताए।
“नेपाल काम गर्दा ज्याला पनि थोरै हुन्छ, काम पनि लामो समयसम्म गर्न पाइँदैन”, उनले भने, “छोराछोरी पाल्नै पर्यो, घर व्यावहार चलाउनै पर्यो। अहिले गएर दुई महिना काम गरेपछि दिपावली मनाउन खर्च पुग्छ।”
जिल्लाका प्रायः सबै स्थानीय तहबाट सयौंको सङ्ख्यामा नेपालीहरू कामको खोजीमा भारतका विभिन्न राज्यमा जान शुरु गरिसकेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र राय यादवले बताउ। उनका अनुसार गोडैताबाट करिब चार सय नेपाली रोजगारीका लागि भारत गएका छन्। नेपाली कामदार लिन भारतका विभिन्न स्थानबाट रिजर्भ बसहरू सीमावर्ती बजारका बस पार्कमा आएर बस्ने गरेका छन्। ती बसहरूमा करिब ४ हजार ५ सयसम्म भाडा तिरेर मजदूरहरू काम गर्ने स्थलतर्फ जान थालेका छन्।
सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाबाट पनि रोजगारीका लागि भारत जानेहरूको लर्को रहेको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए। स्थानीय स्तरमा रोजगारी उपलब्ध नभएकाले कोरोना सङक्रमणकै बीचमा पनि उनीहरू भारत जान बाध्य छन्। जिल्लाबाट मजदूरीका लागि नेपालीहरू भारतको पञ्जाब, दिल्ली, मुम्बई र सुरतमा जाने गरेका पाइएको छ।