रिएजेन्ट सकिएपछि भरतपुरको पीसीआर प्रयोगशाला बन्द
चितवनको भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड-१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मंगलबारदेखि प्रयोगशाला बन्द भएको छ। यससँगै भरतपुरमा संकलन भएको नमूना काठमाडौं पठाउन थालिएको छ।
प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि परीक्षण गर्न रोकिएको छ। मंगलबार मात्र ३२५ वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको डा. अधिकारीले बताइन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोज्ने काम भइरहेको डा. अधिकारीको भनाइ छ।
प्रयोगशालामा चाहिने आर एन ए एब्सट्र्याक्सन किट र पीसीआर रिएजेन्टमध्ये रिएजेन्ट अभाव भएको हो। जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पीसीआर परीक्षण गर्दै आएका छन्। ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्छन्। भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ।
गएको २२ चैतदेखि शुरू भएको भरतपुर प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ। चितवनसहित बाहिरी जिल्लाबाट समेत नमूना परीक्षणका लागि पठाइने गरेको छ।