राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मंसीरमा, डिसेम्बरमा अन्तर्राष्ट्रिय श्रृङ्खलाको प्रस्ताव
राष्ट्रिय क्रिकेट संघ (क्यान) ले आगामी मंसीरदेखि क्रिकेट प्रतियोगिताहरु संचालन गर्ने निर्णय गरेको छ। मंसीरमा पुरुष र महिलाको राष्ट्रिय क्रिकेट प्रतियोगिता पीएम कप गर्ने निर्णय गरेको हो।
क्यानको मंगलबार चितवनमा सम्पन्न साधारणसभाले राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी पीएम कप आयोजना गर्ने निर्णय गरको जनाएको छ। यसअघि कोरोनाभाइरस महामारीका कारण गएको चैतमै बन्दाबन्दी घोषणा भएपछि क्यानले यो वर्ष गर्ने भनेका सबै खाले प्रतियोगिताको मिति तोकिएको थिएन। क्यानले यो वर्ष पीएम कप, नेपाल प्रिमियर लिग लगायत प्रतियोगिता गर्ने जनाएको थियो।
क्यानले आगामी डिसेम्बर (मंसीर, पुस) मा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय श्रृङ्खला आयोजनाको तयारी पनि अघि बढाउने भएको छ। त्यसका लागि आईसीसीसँग समन्वय गरिने सचिव अशोकनाथ प्याकुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसको तयारीका लागि राष्ट्रिय पुरुष क्रिकेट खेलाडीहरुको अभ्यास सञ्चालनको तयारी गर्ने पनि बैठकले निर्णय गरेको छ।
क्यान बोर्ड बैठकले वार्षिक साधारणसभा आगामी २८ असोजमा गर्ने निर्णय गरेको छ। यसअघि भदौ दोस्रो साताका लागि तोकिएको साधारणसभा क्यानले विज्ञप्ति प्रकाशित गरी स्थगित गरेको थियो।
बैठकले कर्णाली प्रदेशको संयोजकमा पदम खड्कालाई नियुक्त गरेको छ। दुर्घटनामा परेका राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीको उपचारका लागि क्यानले परिवार, नेपाल प्रहरी क्लब र ट्रक व्यवसायी लगायतसँग समन्वय गरी सहयोग गर्ने निर्णय पनि गरेको छ।