कोरोना संक्रमण भएपछि के गर्ने ? झन् ठूलो तनावमा छन् संक्रमित र परिवार
परिवारमा कोही व्यक्ति कोरोना संक्रमित भइसकेपछि व्यवस्थापन कसरी गर्ने भन्नेबारे जानकारी नहुँदा, सरकारले त्यस्तो जानकारी लिने व्यवस्था नगरिदिँदा रोगसँग लडिरहेका संक्रमित र तिनका परिवारले झन् ठूलो मानसिक समस्या खेप्नुपरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको मंगलबार, ६ असोज अपराह्नसम्मको तथ्यांक अनुुसार देशभर कोरोनाभाइरस संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा एक हजार ३५६ नयाँ संक्रमित थपिएका हुन्।
कुल संक्रमितमध्ये १८ हजार १४२ सक्रिय संक्रमित छन्। ४८ हजार ६१ जना निको भइसकेका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या बागमती प्रदेशमा सबभन्दा धेरै, १० हजार ४४७ छ। बागमतीमा पनि काठमाडौं उपत्यकामा सबभन्दा धेरै सक्रिय संक्रमित छन्।
स्वास्थ्य मन्त्रालयको यो तथ्यांकले कोरोना संक्रमितको संख्या बढिरहेको देखाइरहँदा संक्रमितहरुले भने रोगविरुद्धको लडाईंसँगै अनेक तनाव झेल्नुपरेको छ।
रोगसँग लड्ने कि तनावसँग
पाटन, ललितपुरका राजीब कर्माचार्य कोरोना संक्रमणबारे कुनै पनि परिवारलाई पूरा जानकारी वा ज्ञान नभएको र सरकारले संक्रमितहरुको व्यवस्थापनका लागि काम नगर्दा जताततै डर र त्रास देखापरेको बताउँछन् ।
“मेरो छिमेक र साथीभाइको परिवारमा कोरोना सक्रमित देखिएपछि के गर्ने भन्नेमा धेरै अन्योल देखेको छु,” कर्माचार्य भन्छन्, “यही अन्योलले धेरै परिवार ठूलो तनावमा छन्।”
१५ भदौमा काठमाडौंको कालीमाटीका एक व्यक्तिमा कोरोना पोजिटिभ देखियो। शुरुका दुई दिन ज्वरोसँगै कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्टार अस्पतालको प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सबै सदस्य आत्तिए। अब के गर्ने कसो गर्ने भन्नेमा लागे।
“संक्रमित भएपछि प्रहरी नै लिन आउँछन् कि भन्ने लाग्यो,” संक्रमितका भाइले हिमालखबरसँग भने, “बाहिर मानिसहरुले के भन्ने हुन्, हामीलाई टोलमा कस्तो व्यवहार गर्ने हुन् भन्ने कुरा मनमा खेल्न थाल्यो, निकै तनाव भयो।”
कोरोना संक्रमण र यसबाट हुने मृत्युका घटना र अपडेट सञ्चारमध्यममा आइरहन्छन्। संक्रमितदेखि मृतकको संख्याबारे आउने तथ्यांकले झन् त्रास र तनाव थप्ने गरेको उनले बताए। परिवारका अन्य सदस्यको परीक्षण गर्दा गर्भवती भाउजुमा समेत संक्रमण पुष्टि भएपछि परिवारमा झन् त्रास थपियो। “अब के गर्ने, कसो गर्ने, कहाँ गएर उपचार गर्ने, समस्या कसलाई सुनाउने भन्ने समस्या भयो”, उनले भने, “कतै भन्ने वा केही सोध्ने ठाउँ हुन्थ्यो भने सायद यस्तो हुँदैन्थ्यो होला।”
उनको परिवारमा अहिलेसम्म तीन जनालाई कोरोना संक्रमण भएको छ। परिवारमा दुई जना बालबालिका पनि छन्। उनीहरुको नतीजा पनि पोजिटिभ देखिए झन् आत्तिने अवस्था आउने ठानेर परीक्षण नै नगरेको, तर आइसोलेसनमा भने बसाएको उनले बताए। “बच्चालाई पोजिटिभ देखिए परिवारकै होसहवास उड्ने भएपछि हामी टेष्ट गर्नतिर नै लागेनौं,” उनी भन्छन् ।
कालिमाटीको मानन्धर परिवारका यी युवा एक्लो उदाहरण होइनन्। कोरोना संक्रमित भएपछि उनका थुप्रै साथीको घरमा समेत यही अवस्था निम्तिएको छ।
उनका एक साथीको परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएपछि अनलाइनमार्फत डाक्टर खोज्न शुरु गरियो। त्यहाँबाट केही उपाय ननिस्केपछि उनका साथीले कोरोना संक्रमित बाबुलाई अस्पताल पुर्याए। अस्पताल लैजान पनि पूरै एक दिनभर भनसुन र दौडधुप गर्नुपरेको उनी सुनाउँछन्।
“परिवारमा कसैलाई कोरोना संक्रमण देखियो भने के गर्ने? उपचार गर्ने वा आइसोलेसनमा राख्ने प्रबन्ध कसरी मिलाउने? अनि सम्पर्कमा रहेकाको कट्याक्ट टे«सिङ कसरी हुन्छ भन्नेबारे सरकारले परामर्श दिने व्यवस्था गर्न जरुरी छ”, उनले भने।
धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम प्रमुख डा. विराज कर्माचार्य सरकारले कोरोना रोकथामसँगै कोरोना संक्रमितको व्यवस्थापनमा ध्यान नदिएको बताउँछन्। संक्रमितलाई उपचार र आइसोलेट गर्नेबारे सरकारी स्तरबाट राम्रो पहल र व्यवस्थापन हुन नसकेको उनको भनाई छ।
“कुनै व्यक्ति कोरोना पोजेटिभ देखिएपछि के गर्ने भन्नेमा निकै ठूलो अन्योल देखिएको छ,” उनी भन्छन्, “सरकारले संक्रमित व्यक्तिलाई लक्ष्यित गरेर कार्यक्रम ल्याउनै सकेको छैन। यसले संक्रमित र उनीहरुका परिवारलाई झन् डर, त्रास र तनावमा पारेको छ।”
कोरोना संक्रमितलाई लक्ष्यित गरेर स्वास्थ्य मन्त्रालयले ४० देखि ५० वटासम्म हटलाइन सेवा सञ्चालन गर्नुपर्ने डा. कर्माचार्यको सुझाव छ।
सरकारले कोरोना संक्रमितलाई लक्षित गरेर कार्यक्रम ल्याउन नसकिरहँदा कतिपय निजी स्वास्थ्य संस्थाले भने होम आइसोलेसनको प्याकेज ल्याउन थालेका छन्। जस्तो कि, ह्याम्स अस्पताल, डाँफे हेल्थ जस्ता नीजि अस्पताल तथा स्वास्थ्य संस्थाले कोरोना संक्रमित विरामीलाई कस्तो अवस्थामा अस्पताल भर्ना गर्ने, घरमा कसरी बस्ने भन्नेबारे परामर्श र स्वास्थ्य जाँच सम्बन्धी प्याकेज ल्याएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी भने कुनै व्यक्ति संक्रमित हुनेबित्तिकै आवश्यक परामर्शका लागि मन्त्रालयले हटलाइन सेवा सञ्चालन गरेको दाबी गर्छन्। डा. अधिकारी मन्त्रालयले सञ्चालन गरेको हटलाइन, १११५ मा सम्पर्क गरेर संक्रमित वा परिवारले आवश्यक परामर्श लिन सक्ने बताउँछन्।
तर, धेरैजसो संक्रमित र तिनका परिवारलाई अहिलेसम्म मन्त्रालयले सञ्चालन गरेको हटलाइन सेवाकै बारे जानकारी छैन। स्वास्थ्य मन्त्रालयले आफ्नो हटलाइन सेवासम्बन्धी जानकारी सबैतिर प्रवाह गर्न नसकेको यसले देखाउँछ। परिणाम, संक्रमित र तिनका परिवारले ठूलो मानसिक तनाव झेल्नुपरेको छ।