शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ सार्वजनिक, विद्यार्थीहरूको तथ्याङ्क संकलन हुँदै
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। मन्त्रालयले कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो।
कोभिडका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी-शिक्षक सम्पर्क प्रवर्द्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरी सरोकारवालाहरूले आफ्नो दायित्व निर्वाह गर्नेगरी आस्मिक कार्ययोजना ल्याइएको मन्त्रालयले जनाएको छ।
मंगलबार भर्चुअल प्रेस मिटमा मन्त्री गिरिराजमणी पोखरेलले कार्ययोजना सार्वजनिक गरिएको जानकारी गराउँदै बसाई स्थानान्तरण भएका विद्यार्थीहरूको तथ्याङ्क संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकहरूको उपस्थितिलाई सुरुवाती दिनमा गरिहाल्नुपर्ने कार्यको रुपमा जोड दिइएको बताए।
शैक्षिक सत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाको लागि ढाँचा विकास नमूना स्वअध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको उनले बताए।
सरकारले यसअघि नै १ असारबाट वैकल्पिक विधिबाट सिकाइ गर्ने निर्देशिका र १ असोजबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरिसकेको छ। महामारीका विषयलाई एकीकृत रुपमा सम्बोधन गर्न जरुरी रहेकोले अन्तरमन्त्रालय र सम्बन्धित निकायसँगको छलफलपछि कार्ययोजना निर्माण गरिएको हो।
मन्त्रिपरिषद्को गत १ असोजको निर्णयबाट विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ स्वीकृत भएको हो।