मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्ति छिटो गर्न प्रधानमन्त्रीलाई नेकपाको आग्रह
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छिट्टै मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी बैठकको निर्णय, निश्कर्ष र सचिवालय बैठकको छलफल अनुसार मन्त्रिपरिषद् तत्काल पुनर्गठन गर्न भनेको हो।
यस्तै, संवैधानिक परिषद्को बैठक पनि छिट्टै बोलाएर रिक्त पदपुर्ति गर्न बैठकले प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ। परिषद्को बैठक बस्ने वातावरण बनाउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। संविधानले तोकेको विधि र मापदण्ड अनुसार छिट्टै पदपुर्ति गर्न भनिएको श्रेष्ठले बताए।
यस्तै, राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्रीले पार्टीसँग छलफल गरेर निर्णय लिन पनि भनिएको छ।
सांगठिनक एकताको प्रस्ताव १० दिनभित्र पेश गर्न अनुरोध
बैठकले पार्टीको सांगठनिक एकताका बाँकी काम सक्नेगरी ठोस प्रस्ताव १० दिनभित्र तयार पारेर सचिवालयमा पेश गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ।
अन्य विषयमा दुई/तीन दिनभित्र सचिवालय बैठक बसेर आवश्यक निर्णय लिइने प्रवक्ता श्रेष्ठले बताए। त्यसका आधारमा सचिवालयले छलफल गरेर टुंगो लगाउने उनले बताए।
पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारलाई प्रभावकारी ढङ्गले अगाडि बढाइ अझ सफल बनाउनेगरी सौहार्दपूर्ण छलफल भएको नेकपा प्रवक्ता श्रेष्ठले बताए।