तत्काल राहत नपाए आन्दोलनमा उत्रिने पर्यटन मजदूरको चेतावनी
कोभिड–१९ का कारण रोजगारी गुमाएका पर्यटन मजदूरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन्।
पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदूर संघर्ष समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी केही दिनभित्रमा पर्यटन मजदूरका लागि राहत उपलब्ध नगराए कडा आन्दोलन गर्ने बताएका हुन्।
संघर्ष समितिका संयोजक प्रकाश घायल राईले बन्दाबन्दीका कारण लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागे पनि अहिलेसम्म सुनुवाई नभएकाले आन्दोलन गर्नुपर्ने स्थितिमा आफूहरु पुगेको बताए। उनले तत्काल ‘मजदूर कल्याणकारी कोष’को रकमबाट आफूहरुलाई राहत दिनुपर्ने माग समेत गरे।
पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग धेरै पटक आफ्ना समस्या राख्दा समेत सुनुवाई नभएको उनले बताए। आफूहरुले पाँच वर्षयता मजदूर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगे पनि त्यही रकम मजदूरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले नमानेको उनले बताए।
आफैंले जम्मा गरेको रकम ऋणको रुपमा समेत पाउन नसक्दा मजदूरहरु समस्यामा परेको उनको गुनासो छ। सरकारबाट लाइसेन्सप्राप्त २५ हजार मजदूर अहिले समस्यामा परेकोले तत्काल राहत दिन माग गरेको उनले बताए।