नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि शुरू भएको हो।
मंगलबारको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन मापदण्ड लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनसहितका चारवटा अजेण्डा तय गरेको थियो। पहिलो अजेण्डा मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी छ।
आइतबारको बैठकमा यो अजेण्डामा सामान्य छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए। आइतबारको बैठकमा केही नीतिगत विषयमा छलफल भएको थियो। ठोस कार्ययोजना भने बनेको थिएन।
नेकपाले त्यसबाहेक संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिका लागि सरकारलाई निर्णय गर्न आधार तयार पार्ने, सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने अजेण्डा पनि तय गरेको छ।
अन्तिम तथा चौंथो कार्यसूचीमा विविध अन्तर्गत केन्द्रीय विभाग, केन्द्रीय समिति तथा स्थायी कमिटीमा रिक्त पदपुर्ति, कारबाही र केन्द्रीय कमिटी सदस्यलाई आर्थिक सहयोग गर्ने भन्ने विषय समेटिएको छ।
सोमबार बस्ने तय भएको बैठक मंगलबारका लागि सरेको थियो। आइतबार नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बैठक बसेको थियो। तर, सोमबार पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएर मंगलबार बालुवाटारमा बसेको हो।
नेकपा महासचिव विष्णु पौडेल नेतृत्वको विवाद समाधान कार्यदलले पार्टीका बैठकहरू बालुवाटारको साटो पार्टी कार्यालयमै गर्नुपर्ने सुझाव पेश गरेको थियो।