कोरोना–कालको कवितामा आशाको उज्यालो
कोरोनाभाइरसको महाव्याधी विश्व अर्थतन्त्र र मानव स्वास्थ्यका लागि गम्भीर संकट बनेको छ। यो महाव्याधी फैलिन नदिन नेपालले गत चैतबाट बन्दाबन्दी, निषेधाज्ञा जस्ता अभ्यास अवलम्बन गरेपछि सर्वसाधारणको हिंडडुल र सामाजिक जीवन निकै खुम्चियो।
यही कोरोना संक्रमण महामारीको अत्यास र बन्दाबन्दीको उकुसमुकुसको समयमा कवि वासुदेव अधिकारीले झण्डै पाँच दर्जन कविता लेखे। कोरोना–त्रास, जीवनयापनको संकट, राजनीति, सत्ता–स्वार्थ, मानवता लगायत विषयमा लेखेका कविताहरू समेटेर अधिकारीले ‘बस्तीमा आगो’ संग्रह प्रकाशन गरेका छन्।
गद्य शैलीका ६१ वटा कविता समावेश गरिएको यो संग्रहले वर्तमान समयको संकट र यथार्थ बोलेको छ। भविष्यप्रतिको आशा, जीवनप्रतिको प्रेममा समर्पित यी कविताले मानवीय संवेदनालाई केन्द्रमा राखेका छन्। सरल काव्यिक अभिव्यक्ति मार्फत कवि अधिकारीले मानवीय मूल्य–मान्यताको, सामाजिक परिवर्तनको पक्षमा वकालत गरेका छन्।
समाजमा मानवीय संवेदना हराउँदै गएको र अनेकौं प्रवृत्तिका विषको फैलावट बढ्दै गएका बेला सर्जकले आगो मात्रै सल्काउने होइन, उज्यालो पनि छर्ने सिर्जना गर्नुपर्ने भाव अधिकारीका कवितामा पाइन्छन्।
कविले संग्रहमा असहज समयमा हृदयमा उत्पन्न स्वतस्फूर्त भाव समेटिएको उल्लेख गरेका छन्। बन्दाबन्दीका अवधिका विभिन्न घटना, सन्दर्भ वा प्रभाव निसृत अनुभूतिलाई उनले अभिव्यक्तिमा बुनेका छन्।
समाजमा मानवीय संवेदना हराउँदै गएको र अनेकौं प्रवृत्तिका विषको फैलावट बढ्दै गएका बेला सर्जकले आगो मात्रै सल्काउने होइन, उज्यालो पनि छर्ने सिर्जना गर्नुपर्ने भाव उनका कवितामा पाइन्छन्। त्यसैले सामाजिक असमानता, बेथिति, स्वार्थ, कलहको काव्यिक प्रतिरोध साथै जीवनप्रतिको उत्साह, प्रेम, संवेदना, चेतना तथा जिजीविषाको महक पनि यी कवितामा भेटिन्छन्। कतिपय कवितामा भावको पुनरावृत्ति भएको पनि देखिन्छ।
२०७७ सालको प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित अधिकारीका यसअघि कविता, गीत–गजलका गरी आधा दर्जन कृति प्रकाशित छन्। उनी हाल नेपाल ब्यांकको सञ्चालक समितिका अध्यक्ष समेत हुन्।
समकालीन साहित्य प्रतिष्ठान, बेलायतले प्रकाशित गरेको यो कविताकृतिको मूल्य रु. २०० राखिएको छ।