बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। मन्त्रिपरिषद्को नियमित बैठक भएपनि केही महत्वपूर्ण विषयमा निर्णय हुन सक्ने एक मन्त्रीले बताएका छन्।
२४ असोजलाई तय गरिएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन, इजरायलसँग श्रम सम्झौता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति लगायतका विषयमा निर्णय हुन सक्ने बताइएको छ।
पुनर्निर्माण प्राधिकरणको कार्यकाल आउँदो १ पुसमा सकिँदैछ। यसअघि सोमबार बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले १ वर्ष अवधि थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरिसकेको छ। प्राधिकरणको निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री नै हुने व्यवस्था छ।
२०७२ सालको भूकम्पपछि पुनर्निर्माणको काम गर्न प्राधिकरण गठन गरिएको थियो। अहिले पनि पुनर्निर्माणका धेरै काम बाँकी छन्।
यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल २८ भदौमा सकिएपछि प्राधिकरणमा उक्त पद रिक्त छ। जनस्तरबाट कुलमानलाई नै निरन्तरता दिनुपर्ने आवाज उठ्ने गरेका छन्। कुलमानको पक्षमा देशका केही स्थानमा प्रदर्शन समेत हुँदै आएका छन्।
मन्त्रिपरिषद्को बैठकपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक पनि आजै बस्दै छ। बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्ने तय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।