उद्धार तथा राहतमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भीषण हावाहुरीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै दुःख प्रकट गरेका छन् ।
गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए ।
साेमबार बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् ।
उनले घटनामा परी मृत्युु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्।
यसैगरी आइतबार राति हावाहुरीबाट बारा, पर्सालगायत जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश– २ मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ ।
साेमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरूप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २७ जनाको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायत अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् ।
उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।
प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकको निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, ‘हामीले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौँ उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ ।’
त्यसैगरी तत्कालका लागि वासस्थान र पीडितको पुनर्वासका लागि पहल गर्नेसमेत मुख्यमन्त्री राउतले जानकारी दिए ।