सिनासमा थन्किएको देशको इतिहास
विडम्बना के भने अहिले पनि धनवज्र बज्राचार्यका थुप्रै पाण्डुलिपि सिनासमा विना अध्ययन थन्किएका छन्, जसबाट इतिहासका नयाँ तथ्य उद्घाटित हुनसक्छन्।
वसन्त महर्जन
वंशावली तथा भनेका, सुनेका कुराका नयाँ प्रस्तुतिलाई नै नेपालको इतिहास मान्नुपर्ने बाध्यताबाट मुक्ति दिने काम बाबुराम आचार्य, नयराज पन्त लगायतका केही व्यक्तित्वहरूबाट थालनी भयो।
इतिहास अध्ययन तथा लेखनमा भएका गल्ती औंल्याउने तथा आफू पनि अध्ययन, अनुसन्धान तथा लेखनमा संलग्न संस्थामा ‘संशोधन मण्डल’ बन्यो, जसको स्थापना तथा नेतृत्व नयराज पन्तले गरे।
नेपाली इतिहासको प्रमुख स्रोतका रूपमा लिइने शिलालेखहरूको संकलन तथा प्रकाशनको काम सर्वप्रथम विदेशबाट भयो। विदेशी विद्वानहरूमा नै सीमित इतिहासको अध्ययन अनुसन्धानको कार्यमा पछि स्वदेशी विद्वानहरू पनि सरिक भए। नयराज पन्तद्वारा संचालित पाठशालाका शिष्यहरू नयाँ अभिलेखको खोजी, उतार्ने, अध्ययन र व्याख्या गर्ने तथा पहिल्यै प्रकाशनमा आइसकेका शिलालेखको पुनःपरीक्षणमा लागे।
यस क्रममा शिलालेखहरूको संकलन, पाठशु्द्धि तथा व्याख्याले ठूलो फड्को मार्यो। संशोधन मण्डलको विशेषता के थियो भने, यसले गल्ती औंल्याउने मात्रै होइन, सही कुरा देखाउने तथा आफूबाट गल्ती नगर्ने प्रयास पनि गर्यो।
संशोधन मण्डलको गठनपूर्व गुरुकुलका शिष्यहरू इतिहास संशोधकका रूपमा सक्रिय थिए। शुरूमा २१ जना सदस्य सक्रिय संशोधन मण्डल विधिवत् दर्ता गराउँदा नयराजसहित आठ जना मात्र बाँकी थिए।
२०२८ सालमा संशोधन मण्डलबाट धनवज्र बज्राचार्यको बहिर्गमन, त्यसपछि उनको त्रिभुवन विश्वविद्यालयको नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) मा प्रवेशलाई लिएर लामो समयदेखि विवाद, आलोचना र हिलो छ्यापाछ्यापसमेत हुँदै आएको देखिन्छ।
संशोधन मण्डलको आदर्श उच्च स्तरको भए पनि वृत्ति–विकासमा सहायक थिएन। गुरुकुलीय शिक्षा पद्धतिमा शैक्षिक प्रमाणपत्र पाइँदैनथ्यो र औपचारिक क्षेत्रमा प्रवेश पाउन मुश्किल हुन्थ्यो। सीमित स्रोत साधनमा चल्नुपर्ने यसको अर्को बाध्यता थियो। यी अप्ठेराबीच पनि सीमित घेरा अनि अपजसको भागीदार हुुनुपरेका कारण पनि हुनसक्छ, सदस्यहरूको बहिर्गमन जारी रह्यो।
त्रिवि जयन्तीमा मन्तव्य दिंदै धनबज्र बज्राचार्य। तस्वीर: सौजन्य महेशराज पन्त
धनवज्रका गहकिला कृतिहरूमा ‘लिच्छविकालका अभिलेख’ हो जसले २०३० सालको मदन पुरस्कार जित्यो। नेपाल र एशियाली अनुसन्धान केन्द्र (त्रिवि) को सेवामा रही लेखिएको भए पनि यो ग्रन्थको गर्भधारण संशोधन मण्डलमै भएको मान्नुपर्दछ। धनवज्रको यो कृतिको अध्ययन विना लिच्छविकालको अध्ययन अद्यापि अपुरो मानिन्छ।
धनवज्रको नियति
सरकारी सेवामा प्रवेश गर्दा कुनै पनि व्यक्तिले धर्म खुलाउनुपर्ने अनिवार्य प्रावधान छ। आफ्नो कुलायन धर्म बौद्ध भए पनि धनवज्रले सिनासमा नेपाली इतिहास तथा प्राचीन लिपि विषयमा अनुसन्धान सम्बन्धी विद्वतवृत्ति करारपत्र (१ भदौ २०२७–३२ साउन २०३०)मा ‘हिन्दू’ लेखाएका थिए। करार पत्रमा यस अवधिमा पारिश्रमिक वा ज्याला लिई र अन्य कुनै पनि सेवा पेशा आदिमा संलग्न नरहने प्रतिबद्धता लिइएको थियो। वास्तवमा बज्राचार्यलाई सिनासमा लैजाने काम एउटा यस्तो घेराबाट भएको थियो, जसको संशोधन मण्डलको कामहरूसँग असहमति मात्र होइन, तीव्र विवाद र कतिपय अवस्थामा गालीगलौज नै चल्थ्यो। त्यसैले पनि धनवज्रले संशोधन मण्डलबाट आफूलाई अलग पार्नुपर्ने भयो।
झट्ट हेर्दा धनवज्रले संशोधन मण्डल त्यागेको देखिए पनि नयराज पाठशालामा गुरुले सिकाएको इतिहास लेखनको कौशल भने बोकेरै हिंडेका थिए। यस अर्थमा उनले संशोधन मण्डलको अंशलाई नै सिनासमा लगे भन्दा अत्युक्ति हुँदैन। तर, संशोधन मण्डलका आधारभूत मूल्य र मान्यताबाट उनी टाढा भएको भने सत्य हो।
लिच्छविकालका १९० वटा अभिलेखको संकलन, अध्ययन, अनुवाद तथा व्याख्या गरिएको ‘लिच्छविकालका अभिलेख’ काम धनवज्रले संशोधन मण्डलमा छँदै सकिसकेका थिए। मध्यकालको अभिलेख, गोपालराजवंशावलीको ऐतिहासिक विवेचना तथा सहलेखनमा शाहकालका अभिलेख, नुवाकोटको ऐतिहासिक रूपरेखा, गोरखाको ऐतिहासिक सर्वेक्षण, दोलखाको ऐतिहासिक रूपरेखा, टिष्टुङ्ग चित्लाङ भेकको ऐतिहासिक सामग्री, पाञ्चाली शासनपद्धतिको ऐतिहासिक विवेचना आदि प्रकाशित छन्। त्यसो त सिनास प्रवेश गर्नुअघि पनि उनका थुप्रै कृति प्रकाशित भइसकेका थिए।
धनबज्र बज्राचार्य लिखित केही कृति ।
स्वास्थ्यस्थिति बिग्रँदै गएपछि जेठ, २०५१ मा धनवज्रले सिनासबाट स्वेच्छिक अवकाश लिए। त्यही वर्षको २० असारमा उनको निधन भयो।
इतिहासका धरोहर धनवज्रबारे राज्यले विशेषतः सिनासले खोजखबर गर्नुपर्दथ्यो, उपचारका लागि चाहिने बन्दोवस्त पनि गर्नुपर्दथ्यो तर समयमै केही हुन सकेन। देहावसानको पाँच वर्षपछि उनको ‘मध्यकालको अभिलेख’ प्रकाशित भयो। १५७२–१८२३ सालसम्मका पाटन क्षेत्रमा भेटिएका अभिलेखहरू समावेश उक्त ग्रन्थमा थुप्रै गल्ती पनि भेटिएका छन्।
ठूलो प्रयासपछि सिनासकी तत्कालीन सह–प्रशासक दामिनी वैद्यको प्रयासमा धनवज्रको घरमा रहेका सम्पूर्ण पाण्डुलिपि सिनासमा ल्याइयो। २ वैशाख २०६४ मा औपचारिक रूपमा धनवज्रका कान्छा छोरा डा. सिद्धार्थवज्र बज्राचार्यबाट ती सामग्री हस्तान्तरण भयो। यही अवधिमा ‘गोपालराजवंशावलीको ऐतिहासिक विवेचना’ प्रकाशित भयो।
संयोग के भने त्यो बेला यो पंक्तिकार पनि सिनासमै संलग्न थियो। त्यति मात्र होइन धनवज्रको परिवारबाट उपलब्ध गराइएका ती सामग्री हिफाजत गर्ने, केलाउने तथा वर्गीकरण गरेर सूची बनाउने काममा संलग्न हुने अवसर समेत पाएको थियो।
धनवज्रका सामग्रीमा उपत्यकाका विभिन्न ठाउँमा रहेका शिलालेखहरूको नेपाली कागजमा उतार ‘फ्यासिमिल’ पनि थियो। कतिपय शिलालेखको उतार थियो। उनकै हस्तलिखित पाण्डुलिपिहरू पनि थिए। खोज्दै जाँदा अन्य पाण्डुलिपि पनि भेटिए, जसमा सम्बन्धित लेखकको नाम भने छैन।
ती सामग्रीका आधारमा सिनासले प्रा. दिनेशराज पन्त ‘पूर्वमध्यकालका अभिलेख’ को सम्पादनको जिम्मा दियो। विक्रमको दशौं शताब्दीदेखि १५३७ सालसम्मका १४३ वटा अभिलेख समावेश गरिएको यो ग्रन्थ २०६८ सालमा प्रकाशित भयो। तर, धनवज्रको संकलनमा रहेका काठमाडौं र भक्तपुरका अभिलेखहरूको बेग्लाबेग्लै पाण्डुलिपिले भने अझसम्म पुस्तकको रूप ग्रहण गर्न सकेको छैन। यतातिर ध्यान जानु नै उनीप्रतिको शब्दश्रद्धा हुनेछ।
अरु पनि
– बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला - महेशराज पन्त
– ‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’ - नयराज पन्त
– संशोधन मण्डलको सामर्थ्य र सीमा - सुजित मैनाली
– बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य - राजकुमार दिक्पाल
– त्यो प्रार्थना श्लोक र प्रतिज्ञा - काशीनाथ तमाेट
– नेपाली इतिहास खोजको दिवस ! - नयनाथ पाैडेल
– सिनासमा थन्किएको देशको इतिहास - वसन्त महर्जन
– संशोधन मण्डलको भविष्य - गाेविन्द न्याैपाने