कोरोना अपडेट: होम आइसोलेसनमा सबभन्दा धेरै संक्रमित वागमती प्रदेशमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ असोजमा सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। यीमध्ये एक हजार १५४ संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन्।
२४ घण्टामा देशैभर थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५३८ छन्। कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ६११ पुगेको छ। सक्रिय संक्रमितमध्ये ८ हजार ९२१ संस्थागत र ८ हजार ६९० होम आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार होम आइसोलेसनका बसिरहेका संक्रमितहरुमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा छन्। वागमती प्रदेशमा ४ हजार ९६१ कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा छन्।
कर्णाली प्रदेशमा सबैभन्दा कम १८३ जना कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या प्रदेश–१ मा १ हजार ३१५, प्रदेश–२ मा ९९८, गण्डकी प्रदेशमा २८६, प्रदेश–५ मा ७५९ र सुदुरपश्चिम प्रदेशमा १८८ छ।
होम आइसोलेसनमा सबभन्दा धेरै कोरोना संक्रमित भएको वागमती प्रदेशमा कुल सक्रिय संक्रमितको संख्या १० हजार १७९ छ भने संस्थागत आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ५ हजार २१८ छ।