बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप
'ग्याङ्स अफ वासेपुर', 'मुक्काबाज' लगायत फिल्म निर्देशन गरेका भारतीय फिल्ममेकर अनुराग कश्यपमाथि यौन शोषणको आरोप लागेको छ। उनीमाथि अभिनेत्री पायल घोषले यस्तो गम्भीर आरोप लगाएकी हुन्।
पायलले अनुरागले सन् २०१५ मा यौन शोषण गर्ने प्रयास गरेको बताएकी छिन्। उनले यस मामिलामा कारबाही गर्न ट्वीट मार्फत भारतीय प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयसँग पनि सहयोग मागेकी छिन्। उनले अनुरागले पुस्तकालयमा लगेर आफूलाई केही आपत्तिजनक भिडिओ देखाएको पनि आरोप लगाएकी छिन्।
उनले मीटू अभियानकै क्रममा आफूले ट्वीट गरेर आफ्नो भोगाइ लेखेको तर पछि हटाएको बताएकी छिन्।
अनुरागले भने आफूमाथिको आरोप निराधार भन्दै अस्वीकार गरेका छन्। उनले आफ्नो वकील मार्फत वक्तव्य जारी गर्दै आफूमाथि लगाइएको सबै आरोप झूटो भएको र यसलाई कानूनी तवरबाट सामना गर्ने बताएका छन्।
अनुरागले वकील प्रियंका खिमानी मार्फत जारी गरेको विज्ञप्ति ट्वीटरमा समेत राखेका छन्। विज्ञप्तिमा खिमानीले आफ्ना क्लाइन्टमाथि यौन शोषणको झूटो आरोप लगाइएको र यसबाट उनी निकै आहत भएको उल्लेख गरेकी छिन्। मीटू जस्तो महत्वपूर्ण अभियानलाई हतियार बनाएर कसैको चरित्रमाथि आघात गर्ने प्रयास गरिनु निकै दु:खद भएको पनि विज्ञप्तिमा भनिएको छ।
पायलले यौन शोषणको आरोप लगाएपछि कंगना रनोतसहितका कैयौं बलिउडकर्मी उनको साथमा उभिएका छन् भने कतिपयले अनुरागलाई आडभरोसा दिइरहेका छन्। अनुरागका दुवै पूर्व पत्नी आरती बजाज र कल्की कोचलिनका साथै तापसी पन्नू, राधिका आप्टे, हंसल मेहता लगायतले अनुरागको साथ दिइरहेका छन्।
कल्कीले सामाजिक सञ्जाल इन्स्टाग्राममा अनुरागलाई सम्बोधन गर्दै 'सोसल मिडियाको सर्कसलाई आफूसम्म आउन नदिन' आग्रह समेत गरेकी छिन्। महिलाहरुको लागि फिल्मको स्क्रिप्ट मार्फत लडाइँ लडेको कुराको आफू साक्षी रहेको समेत उनले उल्लेख गरेकी छिन्।
कंगनाले अनुरागलाई लक्षित गर्दै ट्वीटमा लेखेकी छिन्, 'बलिउड यौन शिकारीहरुले भरिएको छ, जसले नक्कली विवाह गरेर आफूलाई दैनिक सुख दिने भर्खरका युवतीको अपेक्षा गर्छन्।'
पायलले अनुरागमाथि आफ्नो घरमा बोलाएर जबर्जस्ती गर्न खोजेको आरोप लगाएकी छिन्। आफूले यो कुरा पहिले नै सार्वजनिक गर्न खोजे पनि परिवार र साथीसँगीले रोकेको पनि उनले बताएकी छिन्। यो विषय सार्वजनिक गरेसँगै अब भने पायलले अनुराग विरुद्ध प्रहरीमा उजुरी दर्ता गराउने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। - एजेन्सी