बलात्कार मुद्दाका अभियुक्त १३ वर्षपछि पक्राउ
सामूहिक बलात्कारको घटनामा संलग्न भई कैद फैसला भएका इलामका दुई ब्यक्ति १३ वर्षपछि पक्राउ परेका छन्। सो घटनामा संलग्न एकजना कारागारमा छन् भने अर्का एकजना फरार नै छन्।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, २०६४ सालमा झापा जिल्लामा पर्ने साधुहोली जंगलमा एक महिलाको सामूहिक बलात्कार भएको थियो। आरोपीद्धय इलाम चुलाचुली गाउंपालिका ३ का अनिश राई (३०) र निश्चल राई (३१) आइतबार पक्राउ परेका हुन्।घटनापछि उनीहरू वैदेशिक रोजगारीमा खाडी मुलुक गएका थिए।
अनिशले नाम परिवर्तन गरी मिलन र निश्तलले जितकुमार नाम राखेर प्रशासनलाई झुक्याउंदै आएका थिए। प्रहरी नायव उपरिक्षक लालध्वज सुबेदीका अनुसार, बन्दाबन्दीका कारण नेपाल फर्किएर गाउंमा नाम परिवर्तन गरी बस्दै आएका थिए। दुबैलाई जिल्ला अदालत इलामले ११ फागुन २०६७ मा ११ वर्ष १ महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवानाको फैसला गरेको थियो।
दुबैलाई सोमबार जिल्ला कारागार इलामको जिम्मा लगाइएको प्रहरीले बताएको छ। सोही घटनापछि पक्राउ परेका एकले कारागारमा कैद भुक्तान गरिरहेको र अर्काको खोजी भई रहेको डीएसपी सुबेदीले बताए। यस्तै ज्यान मुद्धामा ५ महीना ६ दिन कैद पैmसला भई फरार रहेका इलाम माइजोगमाई गाउंपालिका २ का विष्णुकुमार राई घटनाको १३ वर्षपछि सोमबार पक्राउ परेका छन्।
यस्तै हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त इलाम सुर्योदय नगरपालिका ५ का भोटे देवान भनेर चिनिने हर्कबहादुर राईलाई २ वर्षपछि आइतबार इलाम प्रहरीले पक्राउ गरेको छ। साउनयता इलाममा १३ जना फरार अभियुक्तलाई पक्राउ गरिएको सुबेदीले बताए। पक्राउ परेका मध्ये बलात्कार मुद्दाका बढी छन्।