विदेशमा रहेका नेपालीले मोबाइलबाटै रेमिटेन्स पठाउन सक्ने
विदेशमा रहेका नेपालीहरूले परिवारका सदस्यलाई अब मोबाइलबाटै रेमिटेन्स पठाउन सक्ने भएका छन्। नेपाल राष्ट्र ब्यांकले मोबाइल ब्यांकिङ, इन्टरनेट ब्यांकिङ, इलेक्ट्रोनिक कार्ड, डिजिटल वालेट आदि मार्फत् सिधै रेमिटेन्स पठाउन मिल्ने व्यवस्था गरेको हो।
अहिलेसम्म ब्यांक खाता वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन सकिने व्यवस्था थियो।
राष्ट्र ब्यांक विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार परिपत्र जारी गर्दै विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाटै नेपालमा सिधै पैसा पठाउन सक्ने व्यवस्था गरेको हो। तर, यसका लागि नेपाली कार्यरत रहेका देशका विप्रेषण सेवा प्रदायक कम्पनीहरु डिजिटल पेमेन्ट गर्ने संस्थासँग आवद्ध हुनु पर्नेछ।
यो व्यवस्थापछि विदेशमा रहेका नेपालीले पठाएको रकम उसका आफन्तले घरमै मोबाइल वालेटमार्फत् पाउन सक्नेछन्।
डिजिटल ब्यांकिङलाई प्रवद्र्धन गर्न र औपचारिक माध्यमबाट रेमिटेन्सको आप्रवाह बढाउन यस्तो व्यवस्था लागू गरिएको राष्ट्र ब्यांकले जनाएको छ।