उद्योगको क्षमताको औसतमा ४० प्रतिशत मात्रै उपयोग, बन्दाबन्दी अगाडि नै अर्थतन्त्र सुस्त
कोरोना भाइरसको असर शुरु हुनुअगाडि नै देशको अर्थतन्त्र सुस्त भइसकेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्यांकअनुसार, २०७६ असारदेखि पुससम्ममा देशका उद्योगहरुले आफ्नो क्षमताको औसतमा आधा भन्दा पनि कम मात्रै उत्पादन गरेको देखिएको छ। यसले कोरोना भाइरसको प्रभाव शुरु हुनुभन्दा अगाडि नै बजारमा औद्योगिक वस्तुको माग कम भइसकेको संकेत गर्छ।
नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको पहिलो ६ महिना (असार–पुस २०७६) को आर्थिक गतिविधिको अध्ययनले, देशका १५४ उद्योगले आफ्नो उत्पादन क्षमताको औसतमा ४० प्रतिशत मात्रै उपयोग गरेको देखाएको हो। जबकि, अघिल्लो वर्षको यही अवधि (असार–पुस २०७५) मा उद्योगहरुले आफ्नो औद्योगिक क्षमताको औसतमा ६० प्रतिशत उपयोग गरेका थिए।
अध्ययनले फलामको छड र पाता, सिमेन्ट, कंक्रिट, ईटा, जीआई तार र पाइप, आल्मुनियमजस्ता निर्माणसँग सम्बन्धित वस्तुको उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन क्षमताको तुलनामा निकै थोरै उत्पादन गरेका थिए। यसको देशमा निर्माण क्षेत्र सुस्ताएको संकेत गर्छ। जस्तै, फलामको छड र पाता उत्पादन गर्ने उद्योगहरुले आफ्नो क्षमताको करिब ३५ प्रतिशत मात्रै उत्पादन गरेका थिए। सिमेन्टका उद्योगहरुले आफ्नो उत्पादन क्षमताको करिब ४२ प्रतिशत मात्रै उत्पादन गरेका थिए। ईटा उद्योगहरुले आफ्नो क्षमताको करिब ५३ प्रतिशत मात्रै उपयोग गरेका थिए। सबैभन्दा धेरै मदिरा र वियर उद्योगहरुले आफ्नो क्षमताको क्रमशः ९२ र ८७ प्रतिशत उपयोग गरेका देखिन्छन्।
राष्ट्र ब्यांकको तथ्यांकले कयौं वस्तुको त अघिल्लो वर्षका तुलनामा उत्पादन नै घटेको देखाउँछ। जस्तै, फलामे छड र पाताको उत्पादन करिब २८ प्रतिशतले घटेको छ। जीआई पाइपको उत्पादन ३९ प्रतिशतले घटेको छ। कंक्रिटको उत्पादन ८९ प्रतिशतले घटेको छ। प्लास्टिकका सामानको उत्पादन १३ प्रतिशतले ओरालो लागेको छ। कपडा उत्पादन २० प्रतिशतले घटेको छ। पशुदानाको उत्पादन करिब २१ प्रतिशतले घटेको छ। तथ्यांकले वनस्पति घ्यू, प्रशोधित दूध, विस्कुट, बियर, हल्का पेय पदार्थ, चुरोट, धागो, प्रशोधित छाला, कागज, साबुन, ईटा, जीआई तार, आल्मुनियम, टायर तथा ट्यूवको उत्पादन घटेको देखाएको छ।
यद्यपि, तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, चकलेट, चाउचाउ, मदिरा, सिन्थेटिक कपडा, जुटका सामान, रंग, औषधि, सिमेन्ट, घरेलु धातुका सामान, संरचनागत धातुका सामान, बिजुलीका तारको उत्पादन भने बढेको छ।
तथ्यांकले यो अवधिमा घर तथा भवनको स्थायी नक्सा पासको संख्या पनि १०.५२ प्रतिशतले घटेको देखाउँछ। यसको अर्थ, घर तथा भवन बनाउने क्रम पनि कम भएको छ । त्यस्तै, यो अवधिमा घजग्गा रजिष्ट्रेसन संख्या १.४५ प्रतिशत ओरालो लागेको छ।
कोरोना भाइरसको प्रभाव शुरु नहुँदै अर्थतन्त्रमा शिथिलता देखिएको र चैतमा बन्दाबन्दी शुरु भएर आर्थिक क्रियाकलाप ठप्प भएपछि त अर्थतन्त्रमा गहिरो क्षति पुगेको आकलन गरिएको छ। गत आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर शून्य प्रतिशतको वरिपरि मात्रै रहेको अनुमान गरिएको छ।