कोरोनाकाे उपचारमा प्रयोग हुने नेपालमै बनेको औषधिलाई क्लिनिकल ट्रायलको अनुमति दिइँदै
कोभिड–१९ उपचारमा उपयोगी हुने दावी गरिएको देउराली जनता फर्मास्युटिकलद्वारा उत्पादित औषधिले क्लिनिकल ट्रायलको अनुमति पाउने भएको छ।
नेपालमै पहिलो पटक कोरोना लागेर उपाचार गर्नुपर्ने तर, सिकिस्त नहुँदैका बिरामीमा प्रयोग हुने औषधि उत्पादन गरेर ८ भदौमै सरकारसँग प्रयोगको अनुमति मागिएको देउराली जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए।
शर्माका अनुसार सरकारले अनुमति दिएको अवस्थामा आवश्यक जति पनि औषधि उत्पादन गरेर बजारमा पुर्याउन सकिन्छ। उनले भने ‘‘हामीले वैशाखदेखि नै प्रयास गरेर कोरोना उपचारमा उपयोगी मानिएको फाभिर २०० ट्याबलेट (फाभिपिराभिर-२००एमजी) उत्पादन गरिसकेका छौं। अब सरकारले स्वीकृति दिनेबित्तिकै यसको प्रयोगको लागि पठाउन सकिने गरी तयारी अवस्थामा बसेका छौं।’’
इन्फ्लुएन्जाका बिरामीमा प्रयोग गरिंदै आएको फाभिर २०० ट्याबलेट (फाभिपिराभिर-२००एमजी) कोरोनाको उपचारमा उपयोगी हुने देखिएकोले नेपालमै क्लिनिकल ट्रायल शुरू गर्न अनुमतिको प्रक्रियामा रहेको औषधि व्यवस्था विभागको भनाइ छ।
विभागका निर्देशक नारायणप्रसाद ढकालका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को समन्वयबाट यसको क्लिनिकल ट्रायलको अनुमति पाउने भएको छ। आवश्यक प्रक्रिया मिलाएर औपचारिक रूपमा इजाजत जारी गर्ने काम भने भइरहेको छ। विभागबाट औपचारिक अनुमति जारी हुन चाहिँ बाँकी छ।
फाभिपिराभिर कोरोना लागेको बिरामीलाई मुखबाट दिइने एन्टीभाइरल औषधि हो। यो औषधि कोरोनाका सिकिस्त बिरामीलाई दिइने नभई कोरोना लागेर लक्षण देखिएका बिरामीलाई मात्र प्रयोग गरिन्छ।
यो सन् २०१४ देखि जापानबाट भाइरल इन्फ्लुएन्जाका बिरामीलाई प्रयोग गर्न थालिएको औषधि हो।
औषधिको माग घटेपछि अत्यावश्यक मात्रै उत्पादन
कोभिड-१९ संक्रमणपछि औषधिको माग घटेकोले देउराली जनताले अत्यावश्यक औषधि मात्रै उत्पादन गरिरहेको छ। औषधिको माग नहुँदा र अत्यावश्यक औषधिको लागि कम्पनीकाे सबै जनशक्ति प्रयोग पनि नहुँदा दुई साता उत्पादन ठप्प पारिएको देउराली जनताका कार्यकारी निर्देशक शर्माले बताए।
उनका अनुसार माग नआउने भएपछि औषधि उत्पादन गरेर राखिरहन नमिल्ने र बजारमा गएकाको भुक्तानी रोकिएको कारण कम्पनीलाई नगद अभाव हुँदा दुई सातासम्म उत्पादन बन्द रहेको उद्योग सोमबारदेखि पुनः सञ्चालन भएको छ ।
शर्माले उद्योग बन्द नै नभएपनि औषधिको माग नआएका कारण थप नयाँ उत्पादन गर्न नसक्ने अवस्थामा पुगेकाे बताए। उनले भने "देउराली जनताको उत्पादन बजारमा अभाव नहुने र अत्यावश्यक औषधिको उत्पादन पनि नरोकिनेगरी काम गरिरहेका छाैं।"