आन्तरिक हवाई उडान खुलेसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित
लामो समयदेखि बन्द आन्तरिक हवाई उडान शुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरू खुसी भएका छन्। कोरोना महामारीका कारण जारी भएको बन्दाबन्दीपछि बन्द रहेको आन्तरिक हवाई सेवा शुरु भएसँगै व्यवसायीहरू खुसी भएका हुन्।
सरकारले गत ११ चैतबाट देशभरी बन्दाबन्दी लागू गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो। ४ महीना लामो बन्दाबन्दी खुलेपनि आन्तरिक हवाई सेवा सुचारु नहुँदा पर्यटन व्यवसाय सञ्चालन हुन सकेको थिएन। ५ असोजबाट हवाई सेवा शुरु भएसँगै पर्यटन व्यवसायले गति लिने विश्वास व्यवसायीहरूको छ।
आन्तरिक उडानले व्यवसाय सञ्चालनमा उत्साह थपेको पोखराका पर्यटन व्यवसायी हरि भुजेलले बताए। तर केही पर्यटन व्यवसायीलाई मात्रै फाइदा पुग्ने गरी एयरलाइन्सहरुले उडान प्याकेज घोषणा गरेको प्रति भने उनले आपत्ति जनाए। त्यसले पर्यटन क्षत्रेलाई नभएर एक, दुई जना व्यवसायीलाई मात्रै फाइदा पुग्ने उनले बताए।
अर्का पर्यटन व्यवसायी सूर्य भुजेलले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने अवस्था अझै नभएपनि सरकारी स्तरबाट सकारात्मक सहयोग हुनुपर्ने बताए।
कास्की पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताए।
पर्यटकिय गन्तव्यहरुको संरक्षण गर्दै कोरोनासँग जोगिने र जोगाउँदै अगाडि बढ्नुपर्ने उनले बताए। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न सके २ वर्षभित्रमा लक डाउन अघिकै अवस्थामा पुग्न सकिने उनले बताए।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत ११ चैत्रदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि शुरु भएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ। बिमान सेवा प्रयोग गर्ने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ भएको स्वयं घोषणा पत्र भर्नुपर्ने छ।
नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नुपर्ने छ भने हाते झोल र अत्यावश्यक सामान मात्र लैजान पाइने छ। नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनिमध्ये ८ वटाले आजबाट सेवा शुरु गरेका छन्।