वामदेव गौतमको मनोनयन बदर गर्न मागसहित सर्वोच्चमा रिट
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको मनोनयनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। गौतमको नियुक्ति संविधानविपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार रिट दायर गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन्। गौतम २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए।
त्रिपाठीले रिटमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र त्यसबाट निसृत सम्पूर्ण प्रक्रिया बदर गर्न माग गरेका छन्।
त्यस्तै, कस्ता व्यक्तिलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने भन्नेबारे स्पष्ट मापदण्ड बनाउनका लागि परमादेश जारी गर्नसमेत उनले माग गरेका छन्।
“मैले रिटमार्फत् गौतमलाई मन्त्री नबनाउन र राष्ट्रिय सभा सदस्यका रूपमा काम नगराउन अन्तरिम आदेश माग गरेको छु”, त्रिपाठीले हिमालखबरसँग भने, “अदालतले पर्सि, बुधबार पेसी तोकेको छ।”