मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा, उद्धारकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन
मनसुन सक्रिय भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्को आकलन गर्दै उद्धार कार्यमा संलग्न सुरक्षाकर्मी, गैरसरकारी संस्था तथा विभिन्न निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
प्राधिकरणले सोमबार विज्ञप्ति जारी गर्दै वर्षातले पहाडी भू-भागमा पहिरो जानसक्ने, तराईमा डुवान तथा कटानको सम्भावना रहेको भन्दै उच्च सर्तकताका साथ बस्न र बस्ती नजिक बाढी, पहिरो जोखिमको आकलन गरी नजिकको सुरक्षा निकाय तथा स्थानीय सरकारसँग समन्वय गर्न आग्रह गरेको छ।
मनसुनको अन्त्य हुने समयमा सक्रिय भएको मनसुनले सोमबार साँझदेखि शनिबारसम्म देशभरका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तरपूर्व बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभावले देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
अहिले प्रदेश-५ र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। महाशाखाका वरिष्ठ मौसमविद बरुण पौडेलले मनसुनी वर्षाको अन्त्यमा पुनः मनसुन सक्रिय रहेको र त्यसकै कारण देशभर वर्षाको सम्भावना रहेको बताए। “मनसुनी वर्षाको निरन्तरता हो। बंगालको खाडीमा विकास भएको न्यूनचापीय रेखा र स्थानीयस्तरमा वायु सक्रिय भएका कारण धेरै स्थानमा वर्षाको सम्भावना छ,” पौडेलले भने।
उनका अनुसार सामान्यतया २३ सेप्टेम्बरमा मनसुन अन्त्य हुने भएपनि केही वर्ष यतादेखि अक्टोबर पहिलो हप्तासम्मै मनसुन सक्रिय रहने गरेको छ। गत वर्ष १२ अक्टोबरमा मनसुन नेपालबाट बाहिरिएको थियो। त्यसभन्दा अघिल्ला वर्ष ८ अक्टोबरमा बाहिरिएको थियो। यसवर्ष पनि सेप्टेम्बर अन्त्यसम्मै मनसुन सक्रिय हुने देखिएको छ।