यती एअरद्वारा १६ गन्तव्यका लागि प्याकेज सार्वजनिक
निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले आन्तरिक पर्यटन चलायमान बनाउन भन्दै पर्यटकीय प्याकेज ल्याएको छ। यतीले विभिन्न १६ वटा पर्यटकीय गन्तव्यलाई आधार बनाएर प्याकेज सार्वजनिक गरेको हो।
यती एअरले आफ्नो २२औं वार्षिकोत्सवको अवसर पारेर सोमबार पर्यटकीय प्याकेज सार्वजनिक गरेको हो। यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालका अनुसार कोभिड-१९का कारण ६ महीनादेखि थलिएको आन्तरिक पर्यटन तत्काल पुनरुत्थान हुन नसक्ने र विदेशी पर्यटक आउन पनि समय लाग्ने भएकोले प्याकेज ल्याइएको हो।
रिमाल भन्छन्, ‘‘आन्तरिक पर्यटनबाट यो क्षेत्रलाई चलायमान बनाउन र प्रमुख पर्यटकीय गन्तव्यमा पुग्न ल्याएको प्याकेजले सकारात्मक सन्देश प्रवाह गर्छ।’’
आन्तरिक उडान खुलेकै दिन सोमबारेदेखि यतीले काठमाडौंबाट हुने उडान गन्तव्यलाई आधार बनाएर दुईतर्फी हवाई भाडा, होटल बसाई र सम्बन्धित क्षेत्रको टूरसहितको प्याकेज ल्याएको हो।
प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमणको प्याकेज ल्याएको छ। यो वायुसेवाले काठमाडौं आउने ग्राहकलाई पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकटसहित होटलमा बस्ने व्यवस्थासहितको प्याकेज मिलाएको जानकारी दिएको छ।
यतीका सीईओ रिमालका अनुसार, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, नेपाल पर्यटन बोर्ड र सम्बन्धित क्षेत्रका होटलसँगको समन्वयमा ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ नामको प्याकेज सार्वजनिक भएको हो।
‘अब एअरलाइन्स उड्न मात्र होइन, घुम्न पनि’ भन्ने सन्देश आमयात्रुलाई दिनका लागि भ्रमण प्याकेज ल्याइएको रिमाल बताउँछन्। प्याकेज खरिद गर्ने पहिलो १०० जना खरिदकर्ता यात्रुलाई आकर्षक उपहार प्रदान गर्नुका साथै भ्रमण प्याकेज खरिदकर्ता यात्रुलाई सप्ताहव्यापी ‘लक्की ड्र’मार्फत आकर्षक उपहार प्रदान गरिने पनि यो वायुसेवाले जानकारी दिएको छ।
यतीले प्यकेज सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निर्देशक हिक्मतसिंह ऐरले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले दुई दिन बिदा दिने व्यवस्था गर्नुपर्ने बताए।
बोर्डले नेपालको सम्भावित भ्रमण स्थलको खोजी गरिरहेको बताउँदै ऐरले नेपालीलाई देश दर्शनको वातावरण निर्माण गर्नसके आन्तरिक पर्यटनले गति लिने बताए।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने बताए। उनले विदेशीलाई पीसीआर रिपोर्टको आधारमा घुम्न पाउने व्यवस्थालाई सहजीकरण गर्न पनि आग्रह गरे।
नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँले पर्यटनलाई चलायमान गराउने प्याकेज ल्याउनु सकारात्मक भएपनि ट्राभल एजेन्सीसँग समेत सहकार्य गर्ने व्यवस्था मिलाउन आग्रह गरे।
उनले प्याकेजको बिक्री वायुसेवा आफैंले नगरेर ट्राभल एजेन्सीमार्फत् हुन सके पर्यटनका सबै अंग चलायमान हुने र प्याकेजको प्रभावकारिता पनि हुने सुझाव दिए।