आउँदो ७ कात्तिकभित्र क्लिन फिड लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन
संसदीय समितिले आगामी ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगामी ७ कात्तिकभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको हो।
समितिले बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिंक अनुमित लिएर नेपालमा प्रशारणमा रहेका टिभी च्यानलहरूलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।
विज्ञापनरहित हुन नसक्ने च्यानलहरूको प्रशारण रोक्न मन्त्रालयले बनाएका कार्ययोजना १५ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणीकुमारी खड्काले बताइन्।
ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरूको प्रशारण रोकिँदा पर्ने सकारात्मक र नकारात्मक प्रभावको बारेमा पनि मन्त्रालयको धारणा १५ दिनभित्र पेश गर्न समितिले निर्देशन दिएको छ।
समितिमा सोमबार विज्ञहरू र सञ्चारमन्त्रालयका पदाधिकारीहरूसँगको छलफलपछि स्वदेशी टिभीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी टिभीको प्रशारणमा नेपाली विज्ञापन नराख्न पनि निर्देशन दिएको छ।
याे पनि हेर्नुहाेस्
नेपालको हितमा ‘क्लिन फिड’, यसरी हुनेछ फाइदा
क्लिन फिड : सबैलाई फाइदा
विज्ञापन बजार दोब्बर विस्तार!