साहित्य/चलचित्र महोत्सवः अनलाइनमा अतिथि, अनलाइनमै दर्शक
हरेक वर्ष नियमित आयोजना भइरहेका चलचित्र र साहित्य सम्बन्धी केही महोत्सव अनलाइनमार्फत भइसकेका छन् भने बाँकी महोत्सव पनि भर्चुअल माध्यमबाटै गर्ने आयोजक संस्थाहरुको तयारी छ।
साहित्य र फिल्म महोत्सवहरुमा पछिल्ला वर्ष दर्शकको संख्या बढिरहेको छ। कोरोनाभाइरस महामारीको वेला यो वर्ष पनि महोत्सवहरु रोकिएका छैनन्। सहजकर्ता र बहसकर्ता फरक–फरक ठाउँबाटै छलफलमा व्यस्त छन्। प्रत्यक्ष दर्शकको भीड छैन। तर, दर्शकको संख्या र प्रतिक्रियामा कमी पनि छैन।
पोखराको ‘पामे फिल्म एन्ड म्युजिक फेस्टिभल’को चौथो संस्करण चलचित्र एप मार्फत भइरहेको छ। सामान्य समयमा पोखरामा हुने यो महोत्सव अहिले अनलाइन माध्यमबाट गर्दा पनि राम्रो प्रतिक्रिया पाइरहेको संयोजक प्रवीण टक्की कार्की बताउँछन्।
यो महोत्सव १ सेप्टेम्बरदेखि शुरु भएको हो। अब २९ सेप्टेम्बरसम्म चल्नेछ। अन्तरक्रिया तथा सांगीतिक कार्यक्रमहरु भने नोभेम्बरसम्म जारी रहनेछ। “सामान्य समयमा सीमित दर्शक हुन्थे। विशेष गरी डकुमेन्ट्री, सर्ट मुभी, फिचर फिल्मकर्मीहरुबीच मात्रै चर्चा हुन्थ्यो”, कार्की भन्छन्, “अनलाइन गर्दा अन्य दर्शकहरु पनि जोडिनुभएको छ। देश तथा विदेशबाट हेरेर प्रतिकृया दिईरहनुभएको छ।”
सामान्य समयमा फिल्म महोत्सवमा एउटा समयमा एउटा मात्र फिचर फिल्म, डकुमेन्ट्री वा सर्ट फिल्म हेर्न पाइन्छ। त्यसका लागि महोत्सवस्थल नै जानुपर्छ। यसपटक भर्चुअल महोत्सव गर्दा विश्वको कुनै पनि स्थानबाट आफूलाई मन लागेको फिल्म हेर्न सकिने व्यवस्था थियो। एउटा शो २४ घन्टासम्म हेर्न सकिने व्यवस्था गरिएको थियो।
महामारीको कारण अनलाइनमा जान बाध्य भए पनि महोत्सवका दर्शक संख्या बढेको कार्की बताउँछन्। उनी भन्छन् “यसपटक फिल्मसँग सम्बन्धितभन्दा बाहेकका दर्शकबाट पनि धेरै प्रतिकृया पाइयो। त्यसैले दर्शकको दायरा पनि फाराकिलो रहेछ भन्ने महसुस भएको छ।”
दाङको उदाहरण समूहले पनि यो वर्ष दोस्रो ‘दाङ साहित्य महोत्सव’ १ देखि ३ असोजसम्म भर्चुअल माध्यमबाटै गर्यो। महामारीको कारण नै भर्चुअल माध्यामबाट महोत्सव गरेको उदाहरण समूहका विष्णु सन्यास बताउँछन्। उनी भन्छन्, “विश्वव्यापी फैलिएको कोरोना महामारीको यो सकसपूर्ण समयलाई सिर्जनशील रुपमा अगाडि बढाउनका लागि भर्चुअल माध्याम रोजेका छौं।”
भौतिक रुपमा उपस्थित भएर गरिने कार्यक्रममा सीमित दर्शक हुने तर, भर्चुअल महोत्सवमा दर्शकलाई भौगोलिक रुपमै पुग्नुपर्ने बाध्यता नहुने सन्यास बताउँछन्। लामो समय घरभित्रै बस्दा परेको पीडालाई साहित्य र कलामार्फत मल्हम लगाउन भर्चुअल महोत्सव गरेको उनको भनाइ छ। तीन दिनसम्म चलेको महोत्सवमा २४ जनाभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, प्राध्यापक, सामाजिक अभियानताहरुको सहभागिता थियो।
यसवर्ष हुने किम्फ (काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल) को १८औं संस्करण पनि अनलाइनमार्फत गर्ने तयारी भइरहेको आयोजक संस्था हिमाल एसोसियसनका अध्यक्ष वसन्त थापा बताउँछन्। प्रत्येक वर्ष डिसेम्बरमा आयोजना हुने किम्फको लागि यो पटक ५८ वटा देशबाट २३५ फिल्म आएको छ। थापा भन्छन्, “अहिले हामी फिल्म छनौट प्रकृयामा छौं। हामीले अनलाइन महोत्सव गर्ने निर्णय गरेकाले सम्बन्धित फिल्मकर्मीलाई त्यसरी भाग लिने वा नलिने पनि सोधिरहेका छौं।”
अनलाइन, लाइभ स्ट्रिम, हाइब्रिड (हलमा पनि भौतिक दूरी कायम गरेर देखाइने र अनलाइन लाइभ पनि गर्ने) मध्ये कुनै एक माध्याम अपनाउने तयारी गरेको थापाले जानकारी दिए। अनलाइन माध्याम नयाँ अवसर पनि हुनसक्ने थापाको भनाइ छ। उनी भन्छन्, “हामी हलमा सिमित थियौं। अनलाइन जाँदा अन्तर्राष्ट्रिय दर्शकमाझ पनि पुगिन्छ। त्यसले गर्दा नयाँ दर्शकको झुण्ड फेला पार्न सकिन्छ कि भन्ने लागेको छ।”
‘नेपाल लिट्रेचर फेस्टिभल’ को नवौं संस्करणको आन्तरिक तयारी शुरु भएको आयोजक संस्था फाइन प्रिन्टका कार्यकारी निर्देशक निरज भारी बताउँछन्। साविककै समयमा महोत्सव गर्ने र पहिलो प्राथमिकता भौतिक उपस्थितिमा पोखरामा नै गर्ने तयारी भइरहेको उनको भनाइ छ।
कार्यक्रम सत्रको योजना करिब ४० प्रतिशत पूरा भएको उनी बताउँछन्। “हामी सकेसम्म भौतिक उपस्थितिमा गर्ने योजनामा छौं। तर, त्यतिन्जेलसम्म परिस्थिति अनुकूल भएन भने हरेक सेसनलाई स्टुडियोमा सुट गरेर अनलाइनमार्फत प्रशारण गर्छौं।” मानिस सामाजिक प्राणी भएकाले लामो समयदेखि दूरी कायम गरेर बस्दा यस्ता कार्यक्रमको महत्व बढेको उनको भनाइ छ। यस्ता महोत्सवले घुलमिल हुन सहयोग गर्ने उनी बताउँछन्।
जनकपुर साहित्यिक महोत्सव भने यो वर्ष नहुने भएको छ। महामारीकै कारण एकै समयमा दुई वटा कार्यक्रम गर्न संभव नभएपछि स्थगित गर्नु परेको भारी बताउँछन्। उक्त महोत्सवको आयोजक पनि फाइन प्रिन्ट नै हो। उनी भन्छन्, “यो वर्ष कोभिडको कारण सबै क्षेत्र अस्तव्यस्त छ। कार्यक्रमका लागि आवश्यक फन्ड जुटाउन समस्या हुने हुँदा जनकपुर लिट्रेचर फेस्टिभल स्थगित गरेका छौं।”