अल्जाइमर्स रोग प्रभावितका लागि सरकारले स्वास्थ्य सेवाको प्रबन्ध गर्दैछ : मन्त्री गुरुङ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अल्जाइमर्स (डिमेन्सिया) रोगबाट प्रभावितहरूका लागि सरकारले उपयुक्त स्वास्थ्य सेवाको प्रबन्ध गर्न लागेको बताएका छन्।
विश्व अल्जाइमर्स चेतना दिवस (२१ सेप्टेम्बर) को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री गुरुङले यस रोगबारे आमरूपमा जानकारी दिने तथा यस रोगबारेको भ्रम र अज्ञानता हटाउनका लागि पनि सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने बताए।
दिवसको यस वर्षको नारा विश्व अल्जाइमर्स संगठनले ‘डिमेन्सिय रोगबारे चर्चा गरौं’ तय गरेकाे छ। मन्त्री गुरुङले यो नाराले भनेजस्तै रोगबारे थाहा पाउने र कुरा गर्नुपर्ने बताए।
उनको सन्देशमा भनिएको छ, “यो रोगले ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूमा बढी असर पर्छ, नेपालीहरूको औसत आयु पनि बढ्दै बुढ्यौली उमेरका नागरिकको संख्या बढिरहेकाले यस रोगबारे जनचेतना तथा समयमै उपचारको व्यवस्था आवश्यक छ।”
डिमेन्सिया रोग प्रभावितहरूलाई सरकारले वार्षिकरूपमा रू. एक लाख आर्थिक सहायता उपलब्ध गराउँदै आएको र अब उपयुक्त स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने दिशातर्फ पनि सरकार दृढ रहेको मन्त्री गुरुङले बताएका छन्।
कोरोनाका महामारीबाट ज्येष्ठ नागरिक बढी प्रभावित हुने र अझ यस्तो दीर्घ रोग लागेकाहरूमा झन् बढी असर पर्ने भएकाले परिवारले विशेष हेरचाह गर्नुपर्ने मन्त्री गुरुङको आग्रह छ।
ज्येष्ठ नागरिकसँग परिवारका सदस्यहरूले कुराकानी गर्ने, उनीहरूलाई एक्लै नराख्ने, उचित स्याहारसुसार र उपयुक्त खानपानको व्यवस्था गरेमा रोग नलाग्ने र लागे पनि प्रभाव कम देखिने भएकाले यसतर्फ परिवार सचेत हुन सन्देशमार्फत् आग्रह गरिएको छ।