१८० दिनपछि शुरू भयो आन्तरिक उडान
बन्दाबन्दीका कारण बन्द भएको आन्तरिक हवाई उडान १८० दिनपछि सोमबारदेखि शुरू भएको छ। नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि उडान शुरू गरेका हुन्।
कोरोना संक्रमणको जोखिम बढेपछि ११ चैत २०७६ देखि नियमित हवाई सेवा बन्द भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र जाँचको व्यवस्था मिलाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले बनाएको कोरोना सम्बन्धी ‘प्रोटोकल’ पालना गर्ने गरि सोमबारदेखि सेवा सञ्चालन शुरू भएको बताए।
वायुसेवा कम्पनीहरूले नियमित सेवा सञ्चालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशत मात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको प्रमुख केसीले बताए।
विमान सेवा प्रयोग गर्ने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ्य भएको स्वयं घोषणापत्र भर्नु पर्नेछ। नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्नेछ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइनेछ।
विमानस्थल सेवा सञ्चालन भएको पहिलो दिन यात्रुको चाप उल्लेख्य देखिएको छ। आज देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एअरलाई १७, यति एअरलाई ११, नेपाल वायुसेवा निगमलाई ८, श्री एअरलायन्सलाई ६, तारा एअरलाई १, समिट एअरलाई ४, सीता एअरलाई २, सिम्रिक एअरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ।
सौर्य एअरलाइन्सको विमान मर्मतमा रहेकोले उडान अनुमति पाएको छैन। तर, तारा एअरले नेपालगञ्ज बेस भएर विभिन्न ४ उडान भर्नेछ। आज उडान अनुमति पाएका विमानहरूले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, लुक्ला, फाप्लु लगायत स्थानहरूमा उडान भर्नेछन्।