नेकपा सचिवालय बैठक मंगलबारका लागि सर्यो
सोमबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ। बैठक मंगलबार दिउँसो साढे १२ बजे बालुवाटारमा बस्ने तय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
बैठक सोमबार दिउँसो १ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडा बस्ने तय भएको थियो। आइतबार बैठक पेरिसडाँडामा नै बसेर विभिन्न चारवटा कार्यसूची तय गरेको थियो।
आइतबारको बैठकले केही समय पहिले सम्पन्न स्थायी कमिटी बैठकको निश्कर्ष र निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने, संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिका लागि सरकारलाई निर्णय गर्न आधार तयार पार्ने, सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने अजेण्डा तय गरेका प्रवक्ता श्रेष्ठले बताएका थिए।
अन्तिम तथा चौंथो कार्यसूचीमा विविध अन्तर्गत केन्द्रीय विभाग, केन्द्रीय समिति तथा स्थायी कमिटीमा रिक्त पदपुर्ति, कारबाही र केन्द्रीय कमिटी सदस्यलाई आर्थिक सहयोग गर्ने भन्ने विषय समेटिएको छ।