त्यो प्रार्थना श्लोक र प्रतिज्ञा
अंग्रेजी भाषाप्रति गहिरो आग्रह राखिएको नयराजगुरु संस्कृत पाठशालाको प्रार्थना श्लोक र प्रतिज्ञा नियाल्ने हो भने पाठशालाबाट दीक्षित अधिकांशले ‘विद्याद्रोह’ गरेका छन्।
नयराज पन्त (सन् १९१३–२००२) ले नेपालको ज्योतिष र इतिहास विषयमा चासो राखेर त्यस क्षेत्रमा विशिष्ट योगदान दिए। भारतको बनारसमा पढाइ सकी काठमाडौं फर्केर ई. १९४० देखि नै आफ्नो काठमाडौंस्थित घर वटुमा आफन्तका केटाहरूलाई संस्कृत शिक्षा दिन थाले। पछि इच्छुक विद्यार्थीलाई पढाउन महाबौद्ध, मासंगल्लीको पीयूषवर्षी औषधालयका वैद्य दिव्यवज्र वज्राचार्य (ई. १९१९–९९) को स्वास्थ्य शिक्षाश्रम पाठशालासँगैको फलफूल बगैंचा भएको टहरामा ई. १९४७ मा संस्कृत पाठशाला चलाए।
यो सरकारी सार्वजनिक विद्यालय र गुरुकुलीय जस्तो नभएर मध्यम खालको पाठशाला थियो। यस पाठशालाबाट प्रशिक्षित शिष्य–प्रशिष्यहरू सन् १९५१ को प्रजातन्त्र प्राप्तिपछिको स्वतन्त्र वातावरणमा प्रतिष्ठित इतिहासकारहरूले गल्ती गरेका इतिहास संशोधन गर्न साहसपूर्वक तम्सिए। तिनीहरूले पहिलो इतिहास–संशोधन (पृष्ठ ६) पर्चा १९५२ सेप्टेम्बर २० शनिवार (दशैंको घटस्थापनाको दिन) निकाले। (महेशराज पन्त – को हुन् त नयराज पन्त, ई. २०१४ः२१५–६, मिति रूपान्तरित)
त्योबेला बानेश्वरमा नेपाल–जर्मनी हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाको कार्यालय थियो। म त्यहाँ गइरहन्थें। २००१ फेब्रुअरी १५ बिहीबारका दिन ग्रन्थसूची निर्माता गुरुशेखर राजोपाध्याय (१९२९–२०१५) ले आफ्ना जेठान घनश्याम राजोपाध्यायले सुनाएका श्लोकको टिपोट भन्दै मलाई देखाए।
त्यो श्लोक घनश्यामजीले नयराजगुरु संस्कृत पाठशाला (अचेल ‘संशोधन–मण्डल पाठशाला’ भनिन्छ)मा पढ्दा दिनहुँ गाउनुपर्ने प्रार्थना श्लोक रहेछ। यो थाहा पाएपछि मैले श्लोक आफैंले सारे :
अंग्रेजी पढ्न खोज्ने जनहरू अब यो पाठशाला त्यजेर।
चाँडै जाऊन् सबैले स्वहित विषयले जन्मलाई सपारुन्।।
हामो कर्तव्य हामी सकि नसकि सबै पढ्दछौं देववाणी।
जे जस्तो आइपर्ला सबकन सहजै खप्तछौं हर्षमानी।।
यो श्लोक सुनाउनुपर्ने नियम मासंगल्लीको केन्द्रीय पाठशाला बाहेक महालक्ष्मी (लुभु) नगरपालिका–९ (साविक लामाटार गाविस) ठूलाघर गाउँका नयराजगुरुका एक मूलशिष्य भोलानाथ पौडेल (१९२१–२००९) द्वारा सञ्चालित शाखा पाठशालामा पनि लागू गरिएको थियो। (नयनाथ पौडेल, मौखिक, १४/०९/२०२०)
संस्कृत पाठशालामा पाठ्यारम्भ गर्नु अघि यो नेपाली श्लोक बाहेक अरू पनि केही संस्कृत श्लोक सुनाउनु पथ्र्यो।
स्रग्धरा छन्दमा लिखित यो प्रार्थना श्लोक नयराजगुरुका शिष्य–प्रशिष्यहरूलाई मुखाग्र छ। तर, आश्चर्य के भने उनीहरूमध्ये अधिकांशका रचनामा यो कतै उद्धृत देखिएन। त्यसैले पनि यो प्रार्थना श्लोक टिप्न पाउँदा मलाई संशोधन–मण्डलबारे नौलो कुरा थाहा पाएको अनुभव भयो।
यथार्थ अर्को पनि छ, त्यो के हो भने यो श्लोकमा अभिव्यक्त विचार गुरुवाणी भए पनि अधिकांश शिष्यहरूले यसको आत्मसात् गर्न सकेनन्। प्रशिष्यहरू ऐश्वर्यधर शर्मा (१९३६–२०१८) र दिनेशराज पन्त (१९४९) ले भने बहुमात्रामा यसको पालना गरे।
धर्मगुरुहरूले आफ्नो धर्म सर्वाेपरि माने जस्तै नयराजगुरुले संस्कृत शिक्षाबाटै सबै सांसारिक व्यवहार चल्न सक्छ भनी वकालत गरिरहे। यो प्रार्थना श्लोकमा पनि यही विश्वास झल्किन्छ।
अझ उनको पाठशालामा पढ्ने शिष्यले ‘यस पाठशालाको परिश्रमलाई विदेशी भाषामा चढ्ने खुड्किलो मैले बनाएँ भने विद्याद्रोह गरेको पाप मलाई लागोस्’ भनेर र अभिभावकले ‘अंग्रेजी आदि विदेशी भाषा नपढे पनि उच्च ज्ञान आउन सक्छ तथा जीवन निर्वाह गर्ने धन उपार्जन गर्न सकिन्छ भन्ने कुरामा म भित्र हृदयदेखि विश्वास गर्दछु’ भनी प्रतिज्ञा गर्नुपर्दथ्यो। (हाम्रो उद्देश्य र कार्यप्रणाली, ई. २००२, परिशिष्ट ५, पृ. ७१)
यस प्रतिज्ञा अनुसार त, पाठशालाका प्रायःसबैजसो प्रशिष्यहरूले कालान्तरमा ‘विद्याद्रोह’ गरेको मान्न सकिन्छ।
प्रस्तुत श्लोक कहिले रचियो र कहिले पाठशालाको अङ्ग भयो, थाहा छैन। तर, यो पढ्दा नयराजगुरु संस्कृत पाठशालाका शुरूआती दिनमा यस्तो नियम नभएको जस्तो देखिन्छ। यो कुनै एक शिष्यप्रति लक्षित त थिएन जस्तो पनि लाग्छ।
यो पनि हुनसक्छ, कि एकै भान्छाका खूब मिल्ने मामाको छोरा मोहननाथ पाण्डे (१९३९) आफ्नो पाठशालाबाट भागेर अंग्रेजी स्कूलमा पढ्न गएको घटनाले आहत नयराजले त्यसपछि पो यो श्लोक रचे कि ?
श्लोकमा बेलायती शिक्षा पद्धतिको माध्यम भाषा अंग्रेजीप्रति सोझै आग्रह राखिएको छ, जस्तो अचेल आदिवासी–जनजातिहरूले बाहुनको भाषा भन्ठानेर प्राचीन ज्ञानको भण्डार संस्कृत भाषाप्रति दुराग्रह राख्दछन्।
अरु पनि
– बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला - महेशराज पन्त
– ‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’ - नयराज पन्त
– संशोधन मण्डलको सामर्थ्य र सीमा - सुजित मैनाली
– बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य - राजकुमार दिक्पाल
– त्यो प्रार्थना श्लोक र प्रतिज्ञा - काशीनाथ तमाेट
– नेपाली इतिहास खोजको दिवस ! - नयनाथ पाैडेल
– सिनासमा थन्किएको देशको इतिहास - वसन्त महर्जन
– संशोधन मण्डलको भविष्य - गाेविन्द न्याैपाने