नेपाली इतिहास खोजको दिवस !
नेपाली इतिहासको खोजीमा विदेशीको भर पर्नुपर्ने बाध्यताको अन्त्य गर्ने नयराज पन्त–पहलको बिज आजकै दिन रोपिएकाले यो दिनलाई दिवसका रूपमा मनाउनुपर्ने देखिन्छ।
२००९ असोज ५ गते घटस्थापनाको दिन गुरु पं. नयराज पन्तद्वारा सञ्चालित संस्कृत पाठशालामा पढ्ने विद्यार्थीले पहिलो ‘इतिहास–संशोधन’ प्रकाशित गरेका थिए। पुस्तिका जम्मा ६ पृष्ठको थियो र मूल्य ६ पैसा। यही पहिलो पुस्तिका प्रकाशित भएको दिन अर्थात् असोज ५ गते नै संशोधन–मण्डलको इतिहास विषयसम्बन्धी प्रकाशनको प्रारम्भ भएको दिन हो भन्ने मान्यता रहिआएको छ।
प्रारम्भमा इतिहास–संशोधन कार्यमा २१ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थीमध्ये धेरै नयराज पन्त (वि.सं. १९७०–२०५९) आफैंले महाबौद्धमा खोल्नुभएको पाठशालाका विद्यार्थी थिए भने केही गुरुको पाठशालाकै पाठ्यक्रम अनुसरण गरी उहाँका शिष्य एवं पंक्तिकारका पिताज्यू पं. भोलानाथ पौडेल (वि.सं. १९७८–२०६६) द्वारा ठूलाघर, लुभु, ललितपुरमा खोलिएको संस्कृत पाठशालाका विद्यार्थी थिए।
यी विद्यार्थीले विद्याको क्षेत्रमा तहल्कै मच्चाए। उनीहरूको यस कार्यले उतिखेर विद्वान् भनी कहलिएर उच्च पदमा बसेकाहरूलाई ‘थाल खाऊँ कि भात खाऊँ’ भन्ने अवस्थामा पुर्याइदिएको थियो।
यस्तो अवस्थाबारे नयराज पन्तले ‘अभिलेख–संग्रह १२’ को भूमिकामा लेखेका छन्– विद्याको नामबाट अविद्या फैलाई छोरा नातिसम्मलाई पुग्ने सम्पत्ति जोड्न लागेका मनुष्यहरूलाई संशोधन–मण्डल आँखाको काँडा बनेको छ। किनभने केही नलेखेर बसूँ भने यत्रा विद्वान् भएर पनि तपाईंले पुस्तक किन लेख्नु नभएको भनी दुनियाँ ख्याउँ–ख्याउँ गर्छन्। आफ्नोे पुरानै बानी अनुसार पुस्तक लेख्दै जाऊँ भने संशोधन निस्कन्छ। आफू पनि परिश्रम गरी शुद्ध ग्रन्थ लेख्ने उद्योगमा लागूँ भने परिपञ्च गरी चकाचक पैसा बटुल्ने आफ्नो काममा बाधा पर्छ भन्ने संझी उनीहरू गोल बाँध्न लागेका छन्।
परिणामतः यी विद्यार्थी नेपालको इतिहास, ज्योतिष, संस्कृत–साहित्य, व्याकरण र पञ्चाङ्गसम्बन्धी विधाहरूमा अन्वेषण एवं अनुसन्धान कार्य सम्पादनमा सफल रहे। केही हदसम्म सही, इतिहासको क्षेत्रमा विदेशीलाई प्रामाणिक मान्ने र आफूलाई हीन ठान्ने प्रवृत्ति अन्त्य गराउने काम यही संस्थाले गर्यो।
२०१८ सालमा नयराज पन्तको निर्देशनमा २०१८ काठमाडौं मजिष्ट्रेट अफिसमा संशोधन मण्डल विधिवत् दर्ता भयो। संस्थाको अध्यक्षमा भोलानाथ पौडेल, सचिवमा धनवज्र बज्राचार्य, कोषाध्यक्ष देवीप्रसाद भण्डारी र सदस्यहरूमा रामजी तेवारी, शंकरमान राजवंशी, गौतमवज्र बज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल र दिनेशराज पन्त राखिए।
संशोधन मण्डलले संस्थाकै रूप लिएपछि अनुसन्धान कार्य अझ वेगवान् हुँदै गयो, फलस्वरूप अभिलेख–संग्रहहरूको सम्पादन एवं प्रकाशन कार्य ठीक–ठीक समयमै हुन सक्यो। लिच्छविकाल, मध्यकाल, शाहकालका गरी १४३ ओटा अप्रकाशित अभिलेखहरूको प्रकाशनले यस समयको विभिन्न प्रकारको इतिहास–निर्माण कार्यमा महत्वपूर्ण आधार तयार गर्यो।
२०१८ सालमा नयराज पन्तको निर्देशनमा २०१८ काठमाडौं मजिष्ट्रेट अफिसमा संशोधन मण्डल विधिवत् दर्ता भयो। संस्थाको अध्यक्षमा भोलानाथ पौडेल, सचिवमा धनवज्र बज्राचार्य, कोषाध्यक्ष देवीप्रसाद भण्डारी र सदस्यहरूमा रामजी तेवारी, शंकरमान राजवंशी, गौतमवज्र बज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल र दिनेशराज पन्त राखिए।
तीन वर्षसम्म अभिलेख–संग्रहहरूको प्रकाशन गरिसकेपछि प्राप्त अभिलेखहरूलाई आधार बनाएर अन्वेषण–सम्बन्धी नयाँ नयाँ पहेलु प्रकाश पार्ने खालका निबन्धहरूलाई समावेश गरेर २०२१ सालदेखि इतिहास–सम्बन्धी सर्वाङ्गीण पत्रिका पूर्णिमा को प्रकाशन हुन थाल्यो।
शिथिल कि सक्रिय ?
तर, विस्तारै विस्तारै अभिलेख–संग्रहका सम्पादकहरूमा पनि विचलन आउन थाल्यो। धनवज्र बज्राचार्यलगायतका प्रतिभाशाली एवं ऊर्जावान् शोधार्थीहरू बाहिरिएपछि संशोधन मण्डलको बहुपक्षीय इतिहास–निर्माणकार्यमा शिथिलता आउनु स्वाभाविकै थियो। यसलाई लिएर कतिपय बुद्धिजीवीहरूले चिन्ता जाहेर गरेको पनि पाइन्छ।
उदाहरणका लागि ‘हिमाल खबरपत्रिका’ कै २०७३ असोज ९ को अंकमा छापिएको एक रिपोर्टमा भनिएको थियो— पछिल्लो समय राजनीतिक भागबण्डाले प्रज्ञा प्रतिष्ठान, संस्थापक महेशचन्द्र रेग्मीको निधनसँगै रेग्मी अनुसन्धान केन्द्र र इतिहासकार नयराज पन्तको निधनसँगै संशोधन मण्डल शिथिल बनेका छन्।
तर, यो भनाइप्रति डा. महेशराज पन्तले कडा शब्दमा प्रतिवाद गरे। “नयराज पन्त बितेपछि संशोधन मण्डल शिथिल भयो भनी यहाँ लेखिएको देख्दा धनवज्र बज्राचार्य (वि.सं. १९८८–२०५१) ले संशोधन मण्डल छोडेपछि त्यो संस्था छिटै ओह्रालो लाग्यो भनी ८ वर्षजति अगाडि फ्रेञ्च नेतृत्वविद् जेरार्ड तोफाँले लेखेको कुराको सम्झना हुन्छ। जेरार्ड तोफाँलाई जवाफ दिन मैले पाँच वर्षभन्दा अगाडि लेखेको कुरा (ज्ञानगुन साहित्य प्रतिष्ठान २०६९) को केही अंश यहाँ दोहोर्याए मात्र पनि अहिले ‘हिमाल’ खबरपत्रिकामा नयराज पन्त बितेपछि संशोधन मण्डल शिथिल भयो भनी लेखिएको कुराको जवाफ पुग्छ जस्तो मलाई लाग्छ।
पन्तले अगाडि लेखेका छन्– २०२७ चैतमा ‘पूर्णिमा’ को २४ अङ्क निस्केपछि धनवज्र बज्राचार्यले २०२८ आषाढमा संशोधन–मण्डल छोडे। त्यस वेलासम्म संशोधन–मण्डलले जति काम गर्यो, त्यसमा नयराज पन्त र धनवज्र बज्राचार्यको नै ठूलो हात थियो। त्यसपछि २०२८ मार्गमा मात्र ‘पूर्णिमा’ को २५ अङ्क निस्कियो। एवं क्रमले २०६९ ज्येष्ठ अर्थात् साढे ४० वर्षको अन्तरालमा ‘पूर्णिमा’ का २५ देखि १३५ अङ्कसम्मका १११ अङ्क निस्किए।
“... ‘पूर्णिमा’ को प्रकाशनको मात्र कुरा गर्ने हो भने पनि वि.सं. २०५९ मा नयराज पन्त परलोक हुँदासम्म ‘पूर्णिमा’ का १०३ अङ्क छापिएका थिए त अहिलेसम्म त्यसका १४३ अङ्क छापिइसकेका छन्। ‘पूर्णिमा’ ले गर्दै आएको ज्ञानको उत्पादन र त्यसको प्रसारको सिलसिलामा यही ‘राजधानी’ पत्रिकामा छापिएका १०० वटाभन्दा बढी लेख गन्दा मात्र पनि संशोधन–मण्डल शिथिल भयो भनी भन्न विचारशील मानिसले कुनै हालतमा सक्दैन।” (उपेक्षामा इतिहास ? राजधानी २०७३/८/४)
आज संशोधन–मण्डलको स्थापनाको बीजारोपण गरिएको दिन हो। यही प्रारम्भविन्दुबाट बढेर संशोधन–मण्डलले इतिहास–संशोधन, व्याकरण–संशोधन, पञ्चाङ्ग–संशोधन, विद्या–रक्षालगायत विभिन्न पुस्तक–पुस्तिकाहरूको प्रकाशनमा ठूलो सफलता हात पार्यो। यिनै प्रकाशनहरूको आधारमा इतिहासको खोजीको गुरुकिल्ली अब पहिले जस्तो विदेशीहरूको होइन नेपालीकै हातमा आइपुगेको छ भन्न सकिन्छ।
यो तर्कमा आंशिक सत्यता पनि छ किनकि समय–समयमा विभिन्न विघ्नबाधा सामना गर्नुपरे पनि गुरु नयराजका पुत्रद्वय महेशराज र दिनेशराजले अथक् परिश्रम गरी पत्रिकालाई बचाइराख्नुभएको छ।
परन्तु यसै विषयमा नयराज पन्तले लेख्नुभएको कुरा पनि सान्दर्भिक हुने देखिन्छ। ‘लिच्छविसंवत्को निर्णय’ भन्ने ग्रन्थको उपोद्घातमा उहाँले लेख्नुभएको छ— “आँखाका विशेषज्ञहरूले मलाई दिनको एक डेढ घण्टाभन्दा बढ्ता लेख्न कडासँग रोकेका छन्। साना अक्षर मेरा आँखाले नभेट्ने भइसकेका छन्। यसकारण म आफ्नो हातले यति ठूलो ग्रन्थ लेख्न सक्ने अवस्थामा अहिले छैन। संशोधन–मण्डलको अङ्गभङ्ग भइसकेकोले त्यताबाट पनि यति ठूलो काममा म सहायता पाउन सक्तिनँ।” (पृ. ५०)
आज संशोधन–मण्डलको स्थापनाको बीजारोपण गरिएको दिन हो। यही प्रारम्भविन्दुबाट बढेर संशोधन–मण्डलले इतिहास–संशोधन, व्याकरण–संशोधन, पञ्चाङ्ग–संशोधन, विद्या–रक्षालगायत विभिन्न पुस्तक–पुस्तिकाहरूको प्रकाशनमा ठूलो सफलता हात पार्यो।
यिनै प्रकाशनहरूको आधारमा इतिहासको खोजीको गुरुकिल्ली अब पहिले जस्तो विदेशीहरूको होइन नेपालीकै हातमा आइपुगेको छ भन्न सकिन्छ। त्यसैले पनि नेपाली इतिहास, संस्कृति, पुरातत्व, भाषा एवं साहित्य–सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान गर्ने विद्वान् एवं शोधार्थीले आजको दिनलाई एउटा दिवसकै रूपमा सम्झनुपर्ने देखिन्छ।
– पौडेल संशोधन मण्डल संस्थापक सदस्य हुन्।
अरु पनि
– बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला - महेशराज पन्त
– ‘पृथ्वीनारायण शाहबाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’ - नयराज पन्त
– संशोधन मण्डलको सामर्थ्य र सीमा - सुजित मैनाली
– बिर्सिएका विभूतिः धनवज्र बज्राचार्य - राजकुमार दिक्पाल
– त्यो प्रार्थना श्लोक र प्रतिज्ञा - काशीनाथ तमाेट
– नेपाली इतिहास खोजको दिवस ! - नयनाथ पाैडेल
– सिनासमा थन्किएको देशको इतिहास - वसन्त महर्जन
– संशोधन मण्डलको भविष्य - गाेविन्द न्याैपाने