सुपरओभरमा पुगेको रोमाञ्चक खेलमा दिल्लीसँग पञ्जाब पराजित
जारी आईपीएलको पहिलो खेलमा दिल्ली क्यापिटल्स र किङ्स इलेभन पञ्जाबको रन बराबरीमा टुङ्गिएपछि सुपरओभरबाट विजेताको टुङ्गो लागेको छ।
नेपाली स्पिनर सन्दीप लामिछानेलाई बेञ्चमा राखेको दिल्लीले सुपरओभरमा मात्र तीन रनको लक्ष पाएको थियो। उक्त लक्ष दिल्लीले दुई बलमा नै पार गरेको थियो। जसमध्ये एक रन वाइडबाट पाएको थियो।
सुपरओभरमा पञ्जाबबाट ब्याटिङ गर्न आएका लोकेश राहुलले पहिलो बलमा दुई रन बनाए। त्यसपछि कागिसो रबाडाले लगातार दुई बलमा राहुल र निकोलस पुरनको विकेट लिएपछि दिल्लीले तीन रनको लक्ष पाएको हो।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले सात विकेट गुमाएर १५७ रन बनाएको थियो। शुरुबाटै विकेट गुमाएको दिल्लीलाई कप्तान श्रेयस ऐयर र रिसव पन्तले सम्हालेका थिए। उनीहरुले ३-१३ को अवस्थाबाट १४औँ ओभरमा ४-८६ को अवस्थामा पु¥याएका थिए।
तर, दुवै जना लगातार जस्तो बाहिरिएपछि फेरि दिल्ली दबाबमा आएको थियो। छैटौँ नम्बरमा आएका मार्कस स्टोइनिसले २१ बलमै ५३ रन बनाएपछि दिल्लीले प्रतिश्पर्धात्मक योगफल बनाउन सकेको हो।
पञ्जाबका लागि मोहम्मद सामीले तीन विकेट लिए। उसका मायांक अग्रवाल एक्लैले ६० बलमा ८९ रन बनाए पनि जित दिलाउन सकेनन्।
जितका लागि पञ्जावलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो। चार विकेट बाँकी थियो। अन्तिम ओभरमा पञ्जाव लागि मायांक र क्रिस जोर्डन ब्याटिङमा थिए। तर, दिल्लीका बलर स्टोइनिसले १२ रन मात्र दिएपछि खेल सुपरओभरमा पुगेको थियो।
पञ्जावलाई अन्तिम तीन बलमा जितका लागि एक रन चाहिएको थियो। चौँथो बलमा मायांकले रन लिन सकेनन्। पाचौँ र छैटौँ बलमा स्टोइनिसले लगातार विकेट लिएपछि रन बराबरीमा टुङ्गिएको थियो। दिल्लीका लागि स्टोइनिस, रबाडा र रविचन्द्र आश्विनले समान दुई दुई विकेट लिए।